धर्म/सस्कृति

गुरुङको संस्कृति अवलोकनका लागि संग्रहालय निर्माण थप सामग्री

गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका- ३ स्थित तमुसार क्होवेमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण गरिएको हो ।

तमु सुधार समाजले एक करोड १० लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । गुरुङ जातिको रितिरिवाज, संस्कार र संस्कृति अध्ययन अवलोकन गर्नका लागि उक्त सङ्ग्रहालय उपयुक्त स्थल बन्न सक्ने गुरुङले बताए ।

व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागितामा सङ्ग्रहालय निर्माण गरिएको हो । गुरुङका अनुसार सङ्ग्रहालय निर्माणका लागि व्यास नगरपालिकाले १८ लाख र गण्डकी प्रदेश सरकारले ११ लाख सहयोग गरेको छ भने बाँकी रकम समाजकै सदस्यबाट उठाइएको छ ।

सङ्ग्रहालय निर्माण सम्पन्न भइसकेको र सङ्ग्रहालयभित्र राखिने सामग्री सङ्कलनमा जुटेको गुरुङले बताए । ‘गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने तयारी गरेका छौँ, सङ्ग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइन्छ,’ उनले भने । सङ्ग्रहालय निर्माणका लागि पूर्व लाहुरेहरुले पेन्सन रकम सहयोग गरेका छन् भने कतिपयले स्वेच्छिक रुपमा चन्दा सहयोग गरेका छन् ।

जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ र भीमराज गुरुङले तयार गरेको गुरुङ संस्कृति झल्काउने चित्रहरू सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ । गलबहादुर र र भीमराजले लकडाउनको अवधिमा गुरुङ संस्कार झल्कने विभिन्न तस्वीर तयार पारेका थिए ।

गुरुङका अनुसार गुरुङ जातिको जन्मेदेखि मृत्युसंस्कार झल्किने १५ वटा तस्वीर सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ । उक्त तस्वीर व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तमु सुधार समाजका अध्यध मनबहादुरलाई हस्तान्तरण गर्दै सङ्ग्रहालय अध्ययनको उपयुक्त थलो बन्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *