कोशी प्रदेश

सभापोखरीको भेटी सङ्कलन हुन सकेन

किमाथाङ्का ।सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ को सभापोखरीको भेटी सङ्कलनमा सम्बन्धित निकायको ध्यान गएको छैन । धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीमा वर्षौंदेखि भेटी सङ्कलन हुन सकेको पाइएको छ । पोखरी दर्शन गर्ने विभिन्न जिल्लाबाट आएका भक्तजनले चढाएको भेटी सङ्कलन हुन नसकेको हो ।

भक्तजनले पोखरीमा चढाएका भेटी तथा पैसा सङ्कलन नहुँदा लाखौँ रकम त्यसै खेर गइरहेको छ । करिब २०१५ सालदेखि सभापोखरीमा पुजारीका रुपमा रहेका पुजारी बाबुराम अधिकारीले तीर्थयात्री, भक्तजनले चढाएको भेटी पैसा सङ्कलन नभएको बताए ।

सभापोखरीको दर्शन गर्न हरेक वर्ष तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटक पुग्ने गरेको उनले बताए। अहिलेसम्म तीर्थयात्री, भक्तजनले चढाएको पैसा कुनै पनि निकायले सङ्कलन गर्ने गरेका छैनन् । दैनिक आउने भक्तनजले चढाएको पैसा सङ्कलन गर्न हालसम्म कुनै पनि समिति बनेको छैन, एकपटक बनेको समितिले पनि भेटी सङ्कलन नगरी त्यसै छाडेको छ । भक्तजनले आफ्नो काम सिद्ध भएपछि चढाएका विभिन्न चाँदी तथा अन्य धातुका गरगहनासमेत पोखरीमा छाडेर जाने गरेको पुजारी अधिकारीले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको सभापोखरीको संरक्षण र प्रचारप्रसार गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको भनाइ छ । सभापोखरीमा श्रद्धालुहरु मागेका कुरा पुग्ने विश्वास गर्दछन् । सन्तान नहुनेले पूजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालु पूजा गर्न पुग्ने गरेका छन् । सभापोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको भए पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । पूर्वी नेपालको सङ्खुवासभास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । त्यस पोखरीमा जनैपूर्णिमाका दिन सबैभन्दा धेरै भक्तजन पुग्ने गरेका छन् । किंवदन्तीअनुसार पृथ्वीमा दैत्यले गर्ने विनाश रोक्न देउताले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । “वेद व्यसले सम्पूर्ण देवी देवतालाई भेला गराएर पुराण भनेका थिए ।” सङ्खुवासभामा पर्ने यो तालको लम्बाइ २०० मिटर र चौडाइ करिब १०० मिटर छ । यो समुद्र सतहदेखि चार हजार २४० सय मिटर उचाइमा छ । देउताले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *