काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागुऔषधसहित विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा सुरक्षा निकायले थप कठोर र प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्। जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी शान्ति सुरक्षा र सुशासन कायम गर्न उनले सुरक्षाकर्मीलाई स्पष्ट निर्देशन दिएका हुन्।
भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा आयोजित जिल्लाका सुरक्षा निकाय प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे। उनले अपराध नियन्त्रणमा कुनै प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै परिणाममुखी कार्यशैली अपनाउन जोड दिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मन्त्री गुरुङले सेवा प्रवाहलाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउन विशेष ध्यान दिन निर्देशन दिएका छन्। सुशासनको अनुभूति जनतासम्म पुर्याउने गरी सुरक्षा निकायले आफ्नो भूमिका अझ सशक्त बनाउनुपर्ने उनको भनाइ थियो।
यसै क्रममा गृहमन्त्रीले जिल्लाका विभिन्न संवेदनशील स्थानको स्थलगत निरीक्षणसमेत गरेका छन्। शनिबार राति उनले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो प्रभावित घोप्टेभिर र तुइनखोला क्षेत्रको अवलोकन गर्दै वर्षायाममा पुनः समस्या नदोहोरिने गरी द्रुत गतिमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
आजै उनी पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको अवस्थाबारे निरीक्षण गर्न नवलपरासीपूर्वतर्फ प्रस्थान गरेका छन्। सरकारले सुरक्षा, पूर्वाधार र सेवा प्रवाहका विषयलाई एकसाथ जोडेर हेर्ने संकेतका रूपमा मन्त्रीको यो सक्रियता हेरिएको छ।




