देश

भारतीय नम्बर प्लेटका सवारी रोक्न खोज्दा सर्लाहीमा सर्वदलीय आक्रोश किन ?

काठमाडौं । भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि लगाइएको प्रतिबन्धको निर्णयप्रति सर्लाहीका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा असन्तुष्टि जनाएका छन्। जिल्लामा बसेको सर्वदलीय बैठकले सीमावर्ती क्षेत्रको जनजीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारले हतारमा निर्णय गरेको भन्दै तत्काल पुनर्विचारको माग गरेको हो। बैठकले नेपाल–भारतबीच पुस्तौंदेखि कायम रहेको सामाजिक, सांस्कृतिक तथा पारिवारिक ‘बेटी–रोटी’ सम्बन्धमा यस्तो प्रतिबन्धले नकारात्मक असर पार्ने निष्कर्ष निकालेको छ। सीमावर्ती बासिन्दाको दैनिक आवतजावत, व्यापारिक गतिविधि र सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पर्ने भएकाले पुरानै व्यवस्था कायम गर्नुपर्नेमा दलहरू एकमत देखिएका छन्।

सर्वदलीय रूपमा जारी विज्ञप्तिमा सर्लाहीका स्थानीयले लामो समयदेखि ३० किलोमिटर क्षेत्रभित्र भारतीय नम्बर प्लेटका सवारी सहज रूपमा सञ्चालन गर्दै आएको स्मरण गराइएको छ। यस्तो अभ्यासलाई शान्ति–सुरक्षाको नाममा रोक्न खोजिनु स्थानीय आवश्यकता र सीमावर्ती यथार्थविपरीत भएको उनीहरूको आरोप छ।

दलहरूले भन्सार प्रक्रियाको नाममा सवारी आवागमनलाई पूर्ण रूपमा बन्द गर्ने मानसिकताप्रति पनि आपत्ति जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई भारतीय नम्बर प्लेटका सवारी पूर्ववत् रूपमा सञ्चालन गर्न तत्काल पहल गर्न आग्रह गर्दै माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ।

यस संयुक्त विज्ञप्तिमा एमाले, नेकपा, जसपा, राप्रपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल तथा अन्य स्थानीय राजनीतिक शक्तिका जिल्ला तहका नेताहरूले हस्ताक्षर गरेका छन्। यसले सीमावर्ती सवारी व्यवस्थापनको विषय अब प्रशासनिक निर्णयभन्दा माथि उठेर राजनीतिक मुद्दाका रूपमा विकसित हुन थालेको संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *