देश

६ महिनाभित्र महाधिवेशनको तयारीमा नेकपा, चुनावमा पुरानै शक्ति फर्काउने प्रचण्डको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी छ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको बताएका छन्। उनले महाधिवेशनको मिति, कार्यविधि र संगठनात्मक पुनर्संरचनाबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको जानकारी दिए।

पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिले समीक्षा बैठक जारी रहेको र त्यसबाट निष्कर्ष निकालिएपछि देशव्यापी रूपमा संगठनलाई एकीकृत बुझाइका साथ प्रशिक्षण अभियानमा लैजाने तयारी भइरहेको बताए। उनका अनुसार प्रदेशदेखि जनवर्गीय संगठनसम्म सबै तहमा एकरूप प्रशिक्षण र संगठनात्मक सुदृढीकरण गरिनेछ।

उनले पार्टीभित्र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आगामी महाधिवेशनलाई पुनर्गठनको आधार बनाइने बताए। प्रचण्डले आत्मसमीक्षा, जनतामाझ पुनः जाने रणनीति र बलियो संगठन निर्माणलाई आगामी कार्यदिशाको केन्द्रमा राखिएको स्पष्ट पारे।

उनले पार्टीको विगतको शक्तिशाली अवस्थालाई स्मरण गर्दै २०६४ सालको जस्तै जनसमर्थन पुनः हासिल गर्ने लक्ष्य लिइएको बताए। समीक्षा, संगठन विस्तार र जनविश्वास पुनःस्थापनामार्फत पार्टीलाई फेरि निर्णायक शक्तिका रूपमा स्थापित गर्न सकिने उनको विश्वास थियो।

प्रचण्डले विगतका निर्वाचन परिणामहरू अपेक्षाभन्दा फरक आएको स्वीकार गर्दै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवैधानिक व्यवस्थाभित्र हुने जनमतलाई सधैँ सम्मान गर्ने धारणा राखे। उनले २०६४ मा तत्कालीन नेकपा माओवादीले बहुमत ल्याएको र २०७४ मा एकतापछि दुई तिहाइ नजिक पुगेको स्मरण गर्दै आगामी चुनावमा पनि पार्टीलाई पुरानै उचाइमा फर्काउने सम्भावना बलियो रहेको बताए।

उनका अनुसार पार्टी अब गम्भीर आत्मसमीक्षा, पुनर्गठन महाधिवेशन र जनआधारित संगठन निर्माणमार्फत नयाँ ढंगले अघि बढ्ने रणनीतिमा केन्द्रित हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *