काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो आएको छ। उक्त निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको जानकारी परराष्ट्रमन्त्री खनालले दिएका छन्।
मौरिससमा जारी नवौँ हिन्द महासागर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेको बताए। उनका अनुसार, आगामी दिनमा नेपाल–भारतबीच उच्चस्तरीय भ्रमण आदानप्रदान र द्विपक्षीय परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री पद सम्हालेलगत्तै मोदीले बधाईसहित भ्रमणको निम्तो पठाएको उल्लेख गरे। उनले दुवै देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा पहल भइरहेको पनि जानकारी दिए।
आर्थिक लक्ष्यबारे बोल्दै उनले सरकारले आगामी एक दशकभित्र नेपालको कुल गार्हस्थ उत्पादन ९जीडीपी० दोब्बर बनाउने लक्ष्य राखेको बताए। साथै, नेपाललाई ‘कम विकसित देश’को श्रेणीबाट ‘मध्यम आय भएको राष्ट्र’मा स्तरोन्नति गर्ने दीर्घकालीन योजना रहेको उनले स्पष्ट पारे।
यस लक्ष्य प्राप्तिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा विस्तार तथा पर्यटन, पूर्वाधार र जलविद्युत् क्षेत्रमा सुधारमा विशेष ध्यान दिइने मन्त्री खनालको भनाइ छ। परराष्ट्र नीतिको सन्दर्भमा उनले नयाँ सरकार आए पनि नीतिगत निरन्तरता कायम रहने र संविधानले निर्दिष्ट गरेका सार्वभौमिकता, भौगोलिक अखण्डता तथा असंलग्नताको सिद्धान्तमा नेपाल अडिग रहने बताए।
त्यसैगरी, खाडी मुलुकहरूमा कार्यरत करिब २० लाख नेपालीको सुरक्षाबारे सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले रेमिट्यान्स, इन्धन आपूर्ति तथा मलखादमा पर्न सक्ने प्रभावबारे पनि भारतसँग छलफल भएको जानकारी दिए।




