काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलाको विकट क्षेत्रको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै सम्बन्धित मन्त्रीहरूलाई स्थलगत भ्रमण गर्न आग्रह गरेका छन्। संसद्मा बोल्दै उनले गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधारमन्त्रीलाई दार्चुलाको व्यास गाउँपालिका दुम्लिङ क्षेत्र पुगेर वास्तविक अवस्था अवलोकन गर्न अनुरोध गरे। हालै उक्त क्षेत्रको भ्रमणबाट फर्किएका साम्पाङले त्यहाँको जनजीवन अत्यन्त कठिन रहेको अनुभव सुनाए।
उनका अनुसार आधारभूत सेवा–सुविधाको अभाव, जोखिमपूर्ण आवतजावत र विकासको न्यून पहुँचले स्थानीयहरू वर्षौँदेखि समस्यामा छन्। यस्तो यथार्थ प्रत्यक्ष हेर्न मन्त्रीहरू आफैँ जानुपर्ने उनको भनाइ थियो।
यसै क्रममा उनले संसद्को कार्यशैलीतर्फ पनि ध्यानाकर्षण गराउँदै फरक प्रस्ताव अघि सारे। सांसदहरूले समर्थन जनाउँदा टेबल ठोक्ने परम्परा बदल्दै ताली बजाउने संस्कार अपनाउनुपर्ने सुझाव उनले दिए।
“टेबल ठोक्नु भन्दा ताली बजाउँदा सभ्य र सकारात्मक सन्देश जान्छ,” उनले भने। तर उनको सम्बोधनपछि भने सांसदहरूले पुरानै शैलीमा टेबल ठोकेर समर्थन जनाएका थिए। दार्चुला भ्रमणका क्रममा देखिएको दुर्गम यथार्थले आफूलाई गहिरो रूपमा प्रभावित पारेको उल्लेख गर्दै साम्पाङले त्यस्ता क्षेत्रतर्फ राज्यको ध्यान तत्काल पुग्नुपर्नेमा जोड दिए।




