काठमाडौं । श्रमदानमार्फत पुल निर्माण अभियान अघि बढाउँदै दार्चुला पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई भावुक अनुभवसहित काठमाडौं फर्किएका छन्। उनले सुदूरपश्चिमको दुर्गम भेगमा देखिएको जीवन यथार्थले आफूलाई गहिरो रूपमा झस्काएको बताएका छन्। दार्चुलाको विकट क्षेत्रको भ्रमणपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले आधारभूत सेवा–सुविधाको अभावले स्थानीयको दैनिकी अत्यन्त कठिन रहेको उल्लेख गरेका छन्। उनका अनुसार केही स्थानबाट स्थानीय तहको कार्यालय पुग्नै घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ भने जिल्ला सदरमुकाम पुग्न एकदेखि डेढ दिनसम्म लाग्ने गरेको छ।
सञ्चार, विद्युत्, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारको न्यून उपस्थितिले त्यहाँको जनजीवन झनै कष्टकर बनेको उनले बताएका छन्। स्वास्थ्य चौकीसम्म पुग्न चार घण्टा हिँड्नुपर्ने, बजार सदरमुकाममा मात्र सीमित हुनु, र विद्यालय आधारभूत तहसम्म मात्रै सीमित हुनुजस्ता समस्याले स्थानीय बासिन्दा प्रभावित भएका छन्। उनले राज्यको उपस्थिति अत्यन्त न्यून रहेको उल्लेख गर्दै सुरक्षाकर्मी देखिँदा मात्र ‘नेपालमै भएको’ अनुभूति हुने अवस्था रहेको बताएका छन्। वर्षौँदेखि विकासको पर्खाइमा रहेका स्थानीयहरू तुइनको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको र यसै क्रममा ज्यान गुमाउने घटनासमेत बारम्बार हुने गरेको उनले उल्लेख गरे।
एक आमाले आफ्नो छोरा तुइन चुँडिएर महाकालीमा खसेर हराएको पीडा सुनाउँदा आफू भावुक बनेको उल्लेख गर्दै साम्पाङले त्यस्ता यथार्थले मनमा गहिरो चोट दिएको बताए। उनले त्यहाँका नागरिकका सपना र पीडालाई साथ लिएर राजधानी फर्किएको बताएका छन्। २४ चैतमा दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा झोलुङ्गे पुल निर्माणको शिलान्यास गरेका साम्पाङले श्रमदान अभियानमार्फत पूर्व–पश्चिम जोड्ने संकल्प दोहोर्याएका छन्। यद्यपि महाकाली नदीमा पुल निर्माणको आवश्यकता भइरहेका बेला सानो खोलामा पुल शिलान्यास गरेको भन्दै उनको आलोचना पनि भएको छ।
यसप्रति प्रतिक्रिया दिँदै उनले महाकाली नदीमा पनि पुल निर्माणका लागि पहल गर्ने बताएका छन्। साथै, दार्चुलाजस्ता दुर्गम क्षेत्रतर्फ राज्यको ध्यान तत्काल पुग्नुपर्नेमा उनले जोड दिएका छन्।





