काठमाडौं । नेकपा एमालेले निकट भविष्यमा हुन सक्ने स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सर्कुलर पठाउँदै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने कामलाई अभियानकै रूपमा अघि बढाउन आग्रह गरेका हुन्।
निर्देशनमा विशेषगरी दोहोरो नाम हटाउने, मृत्यु भएका व्यक्तिको विवरण सच्याउने, बसाइँसराइका कारण ठेगाना परिवर्तन भएका मतदाताको अद्यावधिक गर्ने र नयाँ मतदातालाई नामावलीमा समेट्ने काममा ध्यान दिन भनिएको छ। निर्वाचन आयोगले यी अधिकांश सेवा अनलाइन माध्यमबाट समेत उपलब्ध गराएको उल्लेख गर्दै एमालेले पालिका तथा वडा कमिटीलाई यसबारे जनतालाई जानकारी गराउन र आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जनाएको छ।
पार्टीले यस अभियानलाई केवल संगठनात्मक तयारी मात्र नभई मताधिकारको शुद्धता र निर्वाचन व्यवस्थापनको विश्वसनीयतासँग जोडिएको महत्त्वपूर्ण कार्यका रूपमा व्याख्या गरेको छ। एमालेको यो सक्रियता आगामी निर्वाचनको पूर्वतयारीसँगै मतदाता आधार बलियो बनाउने रणनीतिक गृहकार्यका रूपमा हेरिएको छ।




