देश

ओली पक्राउ प्रकरणको विषय संसदमा उठाउने एमालेको संकेत

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणलाई संसद्‌मा उठाउने तयारी गरेको छ। प्रतिनिधिसभाको पहिलो बैठकमै उक्त विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने योजना बनाइएको हो।

पार्टी स्रोतका अनुसार एमालेले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसप्रति कडा आपत्ति जनाउनेछ। साथै, उनको रिहाइको मागसमेत संसद्‌मार्फत उठाइने बताइएको छ।

आज बस्ने बैठकमा शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। यस क्रममा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल ले पार्टीको धारणा प्रस्तुत गर्ने तयारी गरेका छन्।

एमालेले ‘जेनजी’ आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओलीलाई लक्षित गरेर पक्राउ गरिएको दाबी गर्दै आएको छ। यही विषयलाई संसद्‌मा उठाएर कानुनी राज्य र संवैधानिक प्रक्रियाको पक्षमा आवाज उठाउने पार्टीको योजना रहेको एक सांसदले जानकारी दिएका छन्।

यद्यपि, संसद्‌भित्र कस्तो रणनीति अपनाउने भन्ने विषयमा भने अझै स्पष्ट योजना तयार भइसकेको छैन। एमालेले संविधानभित्रै रहेर आफ्नो विरोध र माग प्रस्तुत गर्ने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *