देश

निर्वाचन समीक्षा केन्द्रमा नेकपाको उच्चस्तरीय बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक अहिले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा पछिल्लो निर्वाचनको समग्र समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे गहन छलफल भइरहेको जनाइएको छ।

केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार बैठक विशेषगरी निर्वाचन परिणामको विश्लेषणमा केन्द्रित छ। हालै सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जित्दै कुल १७ सिट हासिल गरेको थियो। यससँगै अघिल्ला चुनावहरूमा तेस्रो स्थानमा रहेको पार्टी यसपटक चौथो स्थानमा सीमित भएको छ।

निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि पार्टीले यसअघि निर्वाचन परिचालन समितिमार्फत सबै १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। सोही प्रतिवेदनमाथि अहिलेको बैठकमा समीक्षा भइरहेको बताइएको छ।

यो बैठक नेकपाको कार्यसंयोजन समितिको पहिलो औपचारिक बैठक पनि हो। विभिन्न २५ घटक दलहरूको एकीकरणबाट गठन भएको पार्टीले अब संगठन सुदृढीकरण र आगामी रणनीति तय गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ।अन्तरिम विधानअनुसार ४५ सदस्यीय रहने केन्द्रीय कार्यसंयोजन समितिमा संयोजक, सहसंयोजकसहित आवश्यक सदस्यहरू रहने व्यवस्था छ भने सदस्य चयन सहमतिका आधारमा गरिने उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *