काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीसँग भेदभावपूर्ण व्यवहार नगर्न र स्वास्थ्य बीमा सेवा प्रवाह सम्बन्धी नियमावलीको पूर्ण पालना गर्न निर्देशन दिएको छ। बोर्डले जारी गरेको पत्र अनुसार केही स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीलाई अग्रिम समय लिन बाध्य पार्ने, आवश्यक औषधि र सेवा उपलब्ध गराउन असफल हुने, वा भेदभावपूर्ण व्यवहार गर्ने गरेको गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो कार्य स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनको उल्लङ्घनको दायरामा पर्छ।
बोर्डले स्पष्ट गरेको छ कि नियम उल्लङ्घन गरेको प्रमाण फेला परेमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९१२० को उपदफा ९१० खण्ड ख अनुसार कानुनी कारबाही हुने छ। यस सम्बन्धमा बोर्डले सबै सेवा प्रदायकलाई स्वास्थ्य बीमा ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पालना गर्न कडा निर्देशन दिँदै अनुगमन कडाइका साथ जारी रहने जानकारी दिएको छ। यो निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार, काठमाडौं मार्फत प्रेषित गरिएको हो र कार्यकारी निर्देशक डा। कृष्ण प्रसाद पौडेलले यसमा हस्ताक्षर गरेका छन्।





