काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको अनुसन्धानलाई लिएर सन्तुलित धारणा सार्वजनिक गरेका छन्। उनले कुनै पनि राजनीतिक आग्रह–पूर्वाग्रह बिना निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। आइतबार पेरिसडाँडास्थित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले अनुसन्धान प्रक्रियामा पारदर्शिता र विश्वसनीयता कायम हुनु आवश्यक रहेको उल्लेख गरे।
प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको पनि स्पष्ट पारे। उनका अनुसार यस विषयलाई आफूहरूले यसअघि नै संसदमा उठाइसकेका छन् र यस्तो कदमले सार्वजनिक पदमा बसेकाहरूको जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे। त्यसैगरी, सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार योजनाबारे उनले अझै विस्तृत अध्ययन गर्न बाँकी रहेको बताए। योजना पूर्ण रूपमा अध्ययन गरेपछि मात्र औपचारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ थियो। ओलीमाथिको अनुसन्धानलाई लिएर देशभर राजनीतिक बहस चर्किँदै गइरहेका बेला प्रचण्डको यो अभिव्यक्ति सन्तुलन र प्रक्रियामुखी दृष्टिकोणका रूपमा हेरिएको छ।




