देश

एमाले सुधारका लागि योगेश भट्टराईको सार्वजनिक अपिल, तीन प्रश्नमार्फत सुझाव माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र निर्वाचनपछिको समीक्षासँगै नेतृत्व र रूपान्तरणको बहस चर्किरहेका बेला उपमहासचिव योगेश भट्टराई ले पार्टी सुधारका लागि खुला रूपमा सुझाव माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक अपिल गर्दै उनले पार्टीको भविष्य, संगठनात्मक पुनर्गठन र रूपान्तरणका लागि तीन महत्वपूर्ण प्रश्न अघि सारेका छन्। उनले आम नागरिक, कार्यकर्ता तथा शुभेच्छुकसँग तर्कसंगत र वस्तुनिष्ठ धारणा राख्न आग्रह गरेका छन्।

भट्टराईले पहिलो प्रश्नमार्फत निर्वाचनमा आएको कमजोर नतिजाका कारणबारे विश्लेषण मागेका छन्। नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन र प्रचार रणनीतिलगायत पक्षमा के–कस्ता कमजोरी रहे भन्नेबारे स्पष्ट सुझाव दिन उनले आग्रह गरेका छन्।

त्यस्तै दोस्रो प्रश्नमा पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका क्षेत्र, कार्यविधि र प्रक्रियाबारे धारणा मागिएको छ। तेस्रो प्रश्नमा भने एमालेका सबल पक्ष, कमजोरी र भविष्यका सम्भावनाबारे मूल्याङ्कन गर्न भनिएको छ।

उनले प्राप्त सुझावहरूले पार्टीमाथि उठेको जवाफदेहिताको प्रश्न सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। पछिल्लो निर्वाचन परिणामलाई उनले ‘गम्भीर समीक्षा गर्नुपर्ने अवस्था’ भन्दै यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *