देश

प्रतिनिधि सभा निर्वाचनमा नयाँ मानक : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले हाल सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भूमिका खेलेका गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्दै निर्वाचन सफल बनाएकोमा प्रशंसा व्यक्त गरेका छन्।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत सुरक्षा समितिका पदाधिकारी तथा उच्च तहका कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरे।

मन्त्री अर्यालले भने, “निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। यस पटक रक्तपात भएन, पुनः निर्वाचन गर्नुपरेन। सामूहिक नेतृत्व र सबै सरोकारवालाको समन्वयको कारण सकारात्मक परिणाम हासिल भएको हो। आगामी दिनमा यसलाई कायम राख्न आवश्यक छ।”

उहाँले निर्वाचन केन्द्रदेखि जिल्ला तहसम्म सक्रिय सुरक्षा समितिहरू, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरूले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए।

मन्त्री अर्यालले थपे, “यो निर्वाचनमा खटिएका अधिकारीहरूको सिर्जनशीलता र क्षमता प्रशंसनीय छ। विगतमा कतिपय निर्णय बिना बुझाइ, स्क्रिनिङ नगरी दिइन्थ्यो। यस पटक सोच(विचार र समन्वयसहित निर्णय गरियो। सबै तहका सुरक्षा निकायहरूको योगदान उल्लेखनीय छ।”

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा ले बलियो समन्वय र सहकार्यका कारण निर्वाचनमा सफलता हासिल भएको बताए। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले ले पनि सुझबुझपूर्ण नेतृत्व र समन्वयको कारण निर्वाचनमा शान्ति र सुरक्षा कायम भएको उल्लेख गरे।

यस कार्यक्रममार्फत मन्त्री अर्यालले निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई बधाई दिएर आगामी निर्वाचनमा पनि यही स्तर कायम राख्ने अपेक्षा व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *