काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदनसँगै प्रस्ताव पेश गरेका हुन्।
शर्माले बैठकमा सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उल्लेख गर्दै, राजीनामा अस्वीकृत गर्ने निर्णय लिनुपर्ने जोड दिएका छन्। उनका अनुसार, “राजीनामामा हनुमुन पिरियड लागू हुन्छ। नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कुनै व्यक्तिको पूर्ण परीक्षण र निष्कर्ष निकाल्न मिल्दैन। प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने जिम्मेवारी छ। यस सन्दर्भमा सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुँदैन।”
उपसभापतिले थप भनेका छन् कि सभापतिको नैतिक जिम्मेवारी र भावनालाई उच्च सम्मान गर्दै बैठकले स्थिति सम्हाल्ने गहन दायित्व र प्रधान नैतिक दायित्वको आधारमा राजीनामा अस्वीकृत गर्ने निर्णय लिनेछ। यस प्रस्तावले पार्टीभित्रको नेतृत्व र संगठनात्मक स्थिरतामाथि केन्द्रित बहसलाई नयाँ मोड दिएको छ।




