देश

हारपछि खोटाङ कांग्रेसको आत्मसमीक्षा अभियान, प्रतिवेदनका लागि विशेष समिति गठन

काठमाडौं  । पछिल्लो निर्वाचनमा अनपेक्षित परिणाम बेहोरेपछि नेपाली कांग्रेस खोटाङले संगठनभित्र आत्मसमीक्षा प्रक्रिया अघि बढाएको छ। पार्टीले निर्वाचनको समग्र मूल्याङ्कन गर्दै कमजोरी पहिचान गर्न तीन सदस्यीय समिति गठन गरेको जनाएको छ। जिल्ला कार्यसमितिको निर्णयअनुसार उपसभापति तीर्थराज भट्टराई को संयोजकत्वमा गठित समितिमा जिल्ला सदस्य श्यामकुमार राई र तरुण दलका जिल्ला अध्यक्ष काजीमान राई सदस्यका रूपमा रहेका छन्। समितिलाई २० दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवार वीरकाजी राई पराजित भएपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको हो। नेतृत्वले यसपटकको हारलाई सामान्य राजनीतिक उतारचढावका रूपमा नलिएर संगठनात्मक कमजोरी र आन्तरिक समस्यासँग जोडेर हेरेको संकेत गरेको छ। पार्टीले विशेषगरी निर्वाचनका क्रममा देखिएका ‘घात–अन्तर्घात’ पहिचानलाई प्राथमिकतामा राखेको छ। यसका लागि क्षेत्रीय, नगर तथा गाउँपालिका तहका समितिहरूलाई समेत सक्रिय बनाउँदै १५ दिनभित्र आ–आफ्नो तहको समीक्षा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

जिल्ला सभापति विष्णुकुमार राई का अनुसार, यसपटकको समीक्षा केवल औपचारिक प्रक्रिया नभई आगामी रणनीति तय गर्ने आधारका रूपमा प्रयोग गरिनेछ। स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय अभाव, कार्यकर्ताको सक्रियता र नेतृत्वको भूमिका जस्ता पक्षलाई गहिरो रूपमा विश्लेषण गरिने तयारी छ। विश्लेषकहरूका अनुसार, पराजयपछि गरिने यस्तो संरचित समीक्षा प्रक्रियाले पार्टीभित्र अनुशासन सुदृढ गर्न र भविष्यका निर्वाचनमा रणनीतिक सुधार ल्याउन सहयोग पुर्‍याउन सक्छ। तर पहिचान गरिएका समस्यामा कडाइका साथ कार्यान्वयन हुन सकेन भने यस्ता प्रतिवेदन कागजमै सीमित रहने जोखिम पनि उत्तिकै रहनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *