देश

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारमा सुझाव संकलनको पहल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले पार्टीको नीतिगत, संरचनागत र व्यावहारिक सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन्। उनले सामाजिक सञ्जालमार्फत खुला आह्वान गर्दै भविष्यको रणनीति निर्माणमा सबैको सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महामन्त्री पौडेलले भनेका छन्, “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा र पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देशित कार्यदिशालाई मध्यनजर गर्दै पार्टीको नियमित महाधिवेशन छिट्टै आयोजना गर्नुपर्ने आवश्यक छ। यही पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।”

उनले कार्यकर्ता र शुभेच्छुकसँग विशेष रूपमा नीतिगत सुधार, संरचनागत व्यवस्थापन र व्यावहारिक क्रियान्वयनका उपायहरूबारे सुझाव दिन आग्रह गरेका छन्। प्राप्त सुझावहरूलाई पार्टीले समीक्षा गरी भावी रणनीति निर्माणमा प्रयोग गर्ने तयारीमा रहेको महामन्त्री पौडेलले जानकारी दिए।

पार्टीले सुझाव संकलनका लागि आधिकारिक इमेल र अन्य सम्पर्क माध्यमहरू उपलब्ध गराइसकेको छ। यस कदमलाई पार्टीले आगामी निर्वाचन तयारी र नेतृत्व सुधारको महत्वपूर्ण पहलका रूपमा लिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *