देश

मतदाताको झुकाव फेरिँदा नतिजा प्रभावित, सरकारलाई सय दिनको समय दिने नेकपाको निष्कर्ष

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्दै (नेकपा) ले मतदाताको मनोवृत्तिमा आएको परिवर्तनका कारण अपेक्षित परिणाम प्राप्त गर्न नसकिएको निष्कर्ष निकालेको छ। पार्टीले नयाँ सरकारलाई कामको मूल्यांकन गर्न करिब सय दिनसम्मको समय दिनुपर्ने धारणा पनि व्यक्त गरेको छ।

फागुन २६ गते काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकमा चुनावी परिणामबारे प्रारम्भिक समीक्षा गरिएको थियो। बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावी अवस्थाबारे विस्तृत ‘ब्रिफिङ’ दिएका थिए। त्यसपछि नेताहरूले हार–जितका कारणबारे गहिरो राजनीतिक र सैद्धान्तिक छलफल आगामी पार्टी कमिटीहरूमा गर्ने निर्णय भएको बताइएको छ।

बैठकमा सहसंयोजक माधवकुमार नेपालले मतदाताको धारणा परिवर्तन हुनु नै परिणाम फरक देखिनुको प्रमुख कारण भएको उल्लेख गरे। उनका अनुसार यसपटकको निर्वाचनले परम्परागत मत आधार र गढकिल्लाको धारणा भत्किएको संकेत गरेको छ। पार्टीले चुनावी समीक्षामा रास्वपाको पक्षमा बलियो लहर देखिएको निष्कर्ष पनि निकालेको छ। पुराना दलप्रति फैलिएको असन्तुष्टि र निराशाले मतदातालाई नयाँ विकल्पतर्फ मोडेको पार्टी नेताहरूको बुझाइ छ।

समीक्षाका क्रममा आफ्नै कमीकमजोरी पनि औँल्याइएको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत फैलाइएका गलत सूचना र प्रचारलाई प्रभावकारी रूपमा खण्डन गर्न नसकिएको स्वीकार गरिएको छ। सही सूचना प्रवाह र रणनीति निर्माणमा कमजोरी देखिएको नेताहरूले बताएका छन्। पार्टीका अनुसार यसपटकको निर्वाचनले पुराना राजनीतिक मान्यता कमजोर भएको देखाएको छ। पहिले जस्तो निश्चित मत आधार र परम्परागत समर्थन अब स्थिर नदेखिएको तथा एउटै परिवारभित्र पनि फरक–फरक राजनीतिक रोजाइ देखिन थालेको विश्लेषण गरिएको छ।

पार्टीले देशको लोकतान्त्रिक व्यवस्था हालसम्म आफ्नो मार्गमै रहेको ठहर गर्दै भविष्यमा लोकतन्त्र संकटमा परेमा संघर्षका लागि तयार रहनुपर्ने धारणा पनि व्यक्त गरेको छ। साथै, विगतमा विभिन्न दलसँग भएको एकीकरणपछि संगठनात्मक समायोजन र एकताबद्ध कार्यशैली विकास गर्न पर्याप्त समय नपाएको पनि बैठकले निष्कर्ष निकालेको छ। आगामी दिनमा पार्टी कमिटीहरू पुनर्गठन गर्दै महाधिवेशनतर्फ संगठनलाई केन्द्रित गर्ने निर्णय भएको छ। यससँगै वाम शक्तिहरूबीच पुनः सहकार्य र एकताको आवश्यकता औँल्याउँदै पार्टीले वाम एकताको पहललाई अघि बढाउने संकेत दिएको छ। प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ भने समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत प्राप्त गरेको छ। यस परिणामसँगै पार्टी संसदमा चौथो ठूलो दलका रूपमा स्थापित भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *