काठमाडौं । १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सुर्खेत पुगेको छ। प्रहरीले अनुसन्धानलाई थप व्यापक र निष्पक्ष बनाउने उद्धेश्यले विज्ञ टोली बोलाएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीराज शाहीका अनुसार, सीआईबी टोली बिहीबार नै सुर्खेत आइपुग्नेछ। साथै, नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट पोलिग्राफ टोली पनि अनुसन्धानमा सहयोग गर्न आउनेछ। ‘पोलिग्राफले झूठो बोलेको पत्ता लगाउँछ,’ शाहीले बताए।
उनका अनुसार, प्रारम्भिक अनुसन्धान सकिएको छ र पोस्टमार्टम रिपोर्टले बलात्कार र अत्यधिक रक्तस्रावबाट मृत्युदेखाएको छ। फरेन्सिक रिपोर्टका लागि मोबाइल, बायो–सेरोलोजिकल तथा टक्सिकोलोजिकल परीक्षणका लागि डेटा सम्बन्धित प्रयोगशालामा पठाइएको छ। शाहीले भने, ‘यी सबै रिपोर्टको कम्पेरिजन पछि निष्कर्षमा पुग्नेछौं।’
वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिसा शनिवार बिहान ट्युसन पढ्न निस्किएकी थिइन्। उनी जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परिन्। उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे। पक्राउ परेका १६ वर्षीय किशोरले इनिसासँग आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्। परिवारले उजुरी दिँदा अन्य १५–१७ वर्षका किशोरहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। अभियुक्त सबै इनिसासँग कक्षाका साथी रहेको खुलेको छ।
देशव्यापी ध्यान र न्यायको माग: घटनाले देशभर चासो खिचेको छ। राजनीतिक दल, अधिकारकर्मी र कलाकर्मीहरूले निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। पीडित परिवारले बुधबार वीरेन्द्रनगरमा निष्पक्ष छानबिनको मागसहित प्रदर्शन गरेको थियो। इनिसाकी आमा तिला विकले प्रमुख जिल्ला अधिकारीलाई भेटेर निर्दोष छोरीमाथि भएको सामूहिक बलात्कार र हत्या प्रकरणमा कडा कारबाहीको माग गरिन्। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले घटनास्थलमै पुगेर परिवारलाई न्याय सुनिश्चित गरिने विश्वास दिलाएका छन्। शाहीले अन्त्यमा भने, ‘अनुसन्धानका सबै पाटो नछुटोस् भनेर विज्ञ टोलीको मद्दत मागिएको हो। निष्पक्ष र पूर्ण छानबिनपछि मात्रै दोषीलाई कानुनी कारबाही गरिनेछ।’




