काठमाडौं । स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई देशलाई औषधिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यापक उत्पादनमा लाग्न आग्रह गरेकी छन्। बिहीबार आयोजित फार्मा एक्स्पोमा सम्बोधन गर्दै उनले औषधि उद्योगको वर्तमान अवस्था र सम्भावनाबारे स्पष्ट दृष्टि प्रस्तुत गरिन्।
मन्त्री गौतमले नेपालमा हाल करिब ८८ वटा औषधि उत्पादन गर्ने कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को असल उत्पादन अभ्यास (GMP) प्रमाणपत्र प्राप्त गरेको जानकारी दिइन्। उनले औषधि उद्योगहरू ‘अन्डर प्रोडक्सन’ मा नबस्नुपर्ने र उत्पादन विस्तारमा जोड दिनुपर्ने औंल्याइन्।
उद्योगको स्तर वृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले औषधि उद्योगलाई प्राविधिक, व्यवस्थापकीय र नीतिगत रूपमा सहयोग गर्न तयार रहेको बताए। मन्त्री गौतमले आफू स्वास्थ्य सचिव हुँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका सरोकारवाला निकायहरूसँग नियमित छलफल गर्दै उत्पादन विस्तारमा जोड दिएको स्मरण गराइन्।
उनका अनुसार, मन्त्री पदमा आएपछि पनि उनले एपोन, एनसिडिए लगायत सम्बन्धित संस्थासँग छलफल गरी औषधि उत्पादनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी छन्।
गौतमको यो पहलले नेपाली औषधि उद्योगलाई मात्र उत्पादनमा मजबुत बनाउने होइन, लामो अवधिमा स्वास्थ्य सुरक्षा र औषधिमा आत्मनिर्भरता सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा लिइएको छ।




