काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ। घटनाले स्थानीय समुदायमा आक्रोश र चिन्ता बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चिकित्सकीय परीक्षणको प्रारम्भिक प्रतिवेदनले यौन हिंसापछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको देखाएको छ। यद्यपि घटना सामूहिक बलात्कारसँग सम्बन्धित हो वा होइन भन्ने विषयमा थप परीक्षण र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले वीरेन्द्रनगर–९ का अनमोल गौलीसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र फरेन्सिक परीक्षणसमेत जारी रहेको प्रहरीले बताएको छ।
यता, मृतक इनिशाका परिवारले भने घटनालाई सामूहिक बलात्कारपछि भएको हत्या भएको दाबी गर्दै संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेका छन्। निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा स्थानीयवासीले बुधबार वीरेन्द्रनगरमा प्रदर्शनसमेत गरेका थिए। इनिशा फागुन २३ गते बिहान विज्ञान विषयको प्रयोगात्मक परीक्षा दिन जाने भन्दै घरबाट निस्किएकी थिइन्। उनी वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेसम्म घर फर्किने जानकारी दिएर निस्किएकी उनी समयमै नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
परिवारका अनुसार छोरीको मोबाइल सम्पर्कविहीन भएपछि चिन्ता बढेको थियो। केही समयपछि अपरिचित व्यक्तिले फोन गरी वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकको जंगलमा उनी बेहोस अवस्थामा रहेको जानकारी दिएको थियो। घटनास्थल पुगेका आफन्तले इनिशा रक्ताम्मे अवस्थामा भेटिएको, कपाल लुछिएको तथा आसपासको घाँस मडारिएको अवस्था देखिएको बताएका छन्। घटनास्थलमा जुत्ता र मोजा छुट्टाछुट्टै अवस्थामा भेटिएको परिवारको भनाइ छ।
इनिशाको मृत्यु प्रकरणले महिला तथा किशोरीमाथि हुने हिंसाको प्रश्न फेरि उठाएको छ। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग स्थानीयस्तरमा तीव्र रूपमा उठिरहेको छ। प्रहरीले भने अनुसन्धान जारी रहेको र सबै पक्षलाई समेटेर सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ।




