काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको छ ।
पार्टीले भनेको छ, “हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह गर्दछ, साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढङ्गले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।”
निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय भएको नेकपाले जनाएको छ ।
“निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनबमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्तिथिमा मतगणना भई पार्टीका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नाका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो,” विज्ञप्तिमा भनिएको छ ।




