देश

इरानको नयाँ सर्वोच्च नेतामा मोज्तबा खामेनी चयन

काठमाडौं । इरानको सर्वोच्च नेतामा मोज्तबा खामेनी चयन भएका छन्। ८८ सदस्यीय धार्मिक निकाय ‘असेम्बली अफ एक्सपर्ट्स’ले उनलाई नयाँ सर्वोच्च नेताको रूपमा चयन गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त निकायको मुख्य जिम्मेवारी नै देशको सर्वोच्च नेता चयन गर्ने भएकाले निर्णयपछि जारी गरिएको वक्तव्य सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको थियो। वक्तव्यमा युद्धको गम्भीर परिस्थितिका बाबजुद पनि नेतृत्व चयन प्रक्रिया अवरुद्ध नभएको उल्लेख गरिएको छ।

वक्तव्यअनुसार ‘असेम्बली अफ एक्सपर्ट्स’को सचिवालय कार्यालयमा बम आक्रमण हुँदा त्यहाँ कार्यरत केही कर्मचारी तथा सुरक्षाकर्मीको मृत्यु भएको थियो। त्यसपछि टेलिभिजनमा समाचार वाचनका क्रममा “अल्लाहु अकबर” र “खामेनी नै रहबर” भन्ने नारा समेत सुनाइएको थियो।

यसअघि इरानका सर्वोच्च नेता अली खामेनीको अमेरिका र इजरायलको हवाई आक्रमणमा मृत्यु भएपछि नयाँ नेतृत्वको विषयमा व्यापक चर्चा सुरु भएको थियो। त्यस क्रममा मोज्तबा खामेनी पनि मारिएको हुन सक्ने अड्कल गरिएको थियो। तर केही दिनपछि इरानको सरकारी मिडियाले उनी जीवित रहेको र देशका महत्वपूर्ण विषयहरूमा छलफल तथा परामर्शमा सक्रिय रहेको जानकारी दिएको थियो।

को हुन् मोज्तबा खामेनी ?

मोज्तबा खामेनीको जन्म सन् १९६९ सेप्टेम्बर ८ मा इरानको उत्तरपूर्वी सहर मशहदमा भएको हो। उनी अली खामेनीका छ सन्तानमध्ये दोस्रो सन्तान हुन्। तेहरानस्थित अलावी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका उनले युवावस्थामै इरान–इराक युद्धका क्रममा केही समय सैन्य सेवामा पनि काम गरेका थिए।

सन् १९९९ मा उनले धार्मिक अध्ययनका लागि कुम सहरमा अध्ययन सुरु गरेका थिए, जुन शिया इस्लामी धर्मशास्त्र अध्ययनको प्रमुख केन्द्र मानिन्छ। लामो समयसम्म धार्मिक पोशाक नलगाएको र करिब ३० वर्षपछि मात्र औपचारिक रूपमा मदरसा अध्ययन सुरु गरेको विषयले पनि उनलाई लिएर चर्चा हुने गरेको छ। हाल उनी मध्यम तहका धर्मगुरुका रूपमा चिनिन्छन्। पछिल्लो समय केही इरानी मिडिया तथा अधिकारीहरूले उनलाई ‘आयतुल्लाह’को रूपमा सम्बोधन गर्न थालेका छन्।

विवाद र राजनीतिक आरोप

मोज्तबा खामेनीको नाम सन् २००५ को राष्ट्रपतीय चुनावका क्रममा चर्चामा आएको थियो। उक्त चुनावमा महमुद अहमदीनेजाद विजयी भएपछि सुधारवादी नेता मेहदी कर्रूबीले खुला पत्रमार्फत मोज्तबामाथि चुनावी प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएका थिए। उनले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स र बसिज मिलिसियाको सहयोगमा चुनाव प्रभावित पार्ने प्रयास गरेको दाबी गरिएको थियो।

त्यसैगरी, सन् २००९ को विवादित चुनावपछि देशभर फैलिएको प्रदर्शन ‘ग्रीन आन्दोलन’का क्रममा केही प्रदर्शनकारीहरूले मोज्तबा खामेनीलाई भविष्यका उत्तराधिकारीका रूपमा अघि सारिएको भन्दै विरोध गरेका थिए।

आगामी चुनौती

विश्लेषकहरूका अनुसार नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीले आफ्नो बाबु अली खामेनीको कठोर विदेश तथा सुरक्षा नीतिलाई निरन्तरता दिन सक्ने सम्भावना छ। तर उनको नेतृत्वमा इरानले आर्थिक संकट, आन्तरिक असन्तुष्टि र अन्तर्राष्ट्रिय दबाब जस्ता चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ।

यस्तै, इरानको नेतृत्व प्रणाली वंशानुगत दिशातर्फ गएको भन्ने धारणा पनि देशभित्र असन्तुष्टि बढाउने कारक बन्न सक्ने विश्लेषण गरिएको छ। यसैबीच इजरायलका रक्षा मन्त्रीले इरानका नयाँ नेतृत्व पनि “स्पष्ट निशानामा रहने” चेतावनी दिएका छन्। त्यसकारण आगामी दिनमा मोज्तबा खामेनी अमेरिका र इजरायलको रणनीतिक दबाबमा पर्ने सम्भावना पनि औंल्याइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *