देश

निर्वाचनमा कांग्रेस नेतृत्वको पराजयपछि पार्टीभित्र आलोचना तीव्र, सभापति थापामाथि बढ्यो दबाब

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र नेतृत्वको कार्यशैली र रणनीतिबारे तीव्र बहस सुरु भएको छ। पार्टीका सभापति गगनकुमार थापासहित केन्द्रीय कार्यसमितिका अधिकांश पदाधिकारी निर्वाचनमा पराजित भएपछि पार्टीभित्र आत्मसमीक्षा र आलोचनाको लहर देखिएको हो। कांग्रेसले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापासहित आठ जना पदाधिकारीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। तर निर्वाचन परिणाम आउँदा तीमध्ये एक जना पनि प्रतिनिधिसभामा प्रवेश गर्न सकेनन्। यसले पार्टी नेतृत्वको रणनीति र संगठनात्मक तयारीबारे प्रश्न उठाएको छ।

सभापति थापा स्वयं मधेश प्रदेशको सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहले झण्डै ११ हजार मतको अन्तरले पराजित गरे। सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए। कांग्रेसले थापालाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सार्दै चुनावी अभियान चलाएको थियो। तर निर्वाचन परिणामले त्यो रणनीतिलाई सफल बनाउन सकेन। कांग्रेसका महामन्त्रीहरू प्रदीप पौडेल र गुरूराज घिमिरे पनि चुनावमा पराजित भए। काठमाडौं–५ मा उम्मेदवार बनेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सम्मित पोखरेलसँग झण्डै साढे २१ हजार मतले पराजित भए। पोखरेलले ३० हजार ७३७ मत प्राप्त गर्दा पौडेलले नौ हजार १५९ मत मात्र पाए।

मोरङ–४ बाट चुनाव लडेका अर्का महामन्त्री घिमिरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका थिए। त्यस्तै सात जना सहमहामन्त्रीहरू पनि निर्वाचनमा विजयी हुन सकेनन्। बारा–३ बाट उम्मेदवार बनेका सहमहामन्त्री फरमुल्लाह मन्सुर राष्ट्रिय स्वतन्त्र पार्टीका अरबिन्द साहसँग पराजित भए। ललितपुर–१ मा उदयशम्शेर राणा पनि रास्वपाकै उम्मेदवार बुद्धरत्न महर्जनसँग हार बेहोर्न पुगे। सुदूरपश्चिमको बझाङबाट उम्मेदवारी दिएका सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेकपा एमालेका ऐनबहादुर महरसँग पराजित भए भने दाङ–१ मा योगेन्द्र चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकसँग ठूलो मतान्तरले हार्न पुगे। कर्णाली प्रदेशको डोल्पामा उम्मेदवार बनेका सहमहामन्त्री कर्णबहादुर बुढा आफ्नै सहोदर भाइ तथा नेकपा उम्मेदवार धनबहादुर बुढासँग पराजित भए।

निर्वाचनमा पार्टीका शीर्ष नेतृत्व नै पराजित भएपछि कांग्रेसभित्र नेतृत्वको निर्णय प्रक्रिया, उम्मेदवार छनोट र संगठन सञ्चालन शैलीबारे आलोचना बढ्न थालेको छ। केही नेताहरूले चुनावी रणनीति कमजोर भएको र पार्टीभित्र पर्याप्त सहमति नबनाई निर्णय गरिएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्। यद्यपि कांग्रेसले प्रत्यक्षतर्फ देशभर १७ सिट जितेको छ। कोशी प्रदेशमा तीन, मधेश र बागमतीमा एक–एक, गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच तथा सुदूरपश्चिममा तीन सिट कांग्रेसले जितेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीका शीर्ष नेताहरूको सामूहिक पराजयले कांग्रेसभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको छ। आगामी दिनमा नेतृत्वको रणनीति, संगठनको पुनर्संरचना र पार्टी एकता कसरी सुदृढ बनाइन्छ भन्ने प्रश्न अहिले कांग्रेसभित्र मुख्य बहसको विषय बनेको छ।

नेपाली कांग्रेसको आधिकारिकता र नेतृत्व विवाद अहिले पनि सर्वोच्च अदालतले जारी छ । सर्वोच्च अदालतले १५ दिनभित्रै विवाद टुंग्याउन अग्राधिकार दिएको थियो । तर निर्वाचनका कारण रोकिएको छ,। सो समयमा तत्कालीन सभापति शेरबहादुर देउवाले तत्कालीन महामन्त्ती गगन थापा (हालका सभापति)लाई विशेष महाधिवेशनको समय नभएकाले नियमित महाधिवेशन निर्वाचनपछि मात्र हुने भएकाले केन्द्रिय कार्य समितिले निर्णय गरेको थियो । तर थापाले आफु सभापति र निर्वाचनमा टिकट बाड्न पाउनुपर्ने अडानसहित विशेष महाधिवेशन आधा कांग्रेसलाई बाहिर राखेर ग¥यो । निर्वाचन आयोगले उनलाई मान्यता दियो सोही कारण निर्वाचनमा होमिए । तत्काली सभापति देउवासहितका लोकतन्त्र स्थापनका लागि कडा सँघर्ष गरेका देउवासहितका दर्जर्नौँ नेताहरुलाई टिकट नै दिएन । सोही कारण नयाँ र पुरानको भेद थापाले अगाडी बढाएपछि निर्वाचनमा पराजित हुनु प¥यो । सोही कारण अब थापाले नयाँ र पुरानाको भेदलाई हटाएर आत्मासमितक्ष सहित अघि बड्नुपर्ने बेला आएको छ । अहिले कांग्रेसभित्र सोही विवाद मुख्य चर्चाको केन्द्र बन्ने संकेत गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *