देश

झापा–सर्लाहीका संवेदनशील क्षेत्रमा सुरक्षा कडाइ, थप प्रहरी र सादा पोशाक परिचालन

काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै झापा–५ र सर्लाही–४ लाई उच्च संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। हेभिवेट उम्मेदवारबीचको प्रतिस्पर्धा र सम्भावित सुरक्षा जोखिमका कारण यी दुई क्षेत्रमा विशेष रणनीति लागू गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी स्रोतका अनुसार सम्भावित घटनालाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी खटाइनुका साथै सूचना संकलनका लागि सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ। आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भर्चुअल माध्यमबाट मातहतका इकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

सुरक्षा विश्लेषणपछि झापामा २२ जना वरिष्ठ प्रहरी अधिकृतसहित ७७८ जना नेपाल प्रहरी परिचालन गरिएको छ। यसमा ७५५ जना अन्य दर्जाका प्रहरीसमेत छन्। त्यस्तै सर्लाहीमा २५ जना वरिष्ठ अधिकृत, ११९ जना जुनियर अधिकृत र ६४८ जना अन्य दर्जाका गरी ७९२ जना प्रहरी खटाइएको जनाइएको छ। यी संख्या नेपाल प्रहरीअन्तर्गतका मात्र हुन्।

यसका अतिरिक्त निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि सुरक्षा व्यवस्थामा परिचालित छन्। मौन अवधिमा हुनसक्ने चलखेल तथा सम्भावित अवाञ्छित गतिविधिप्रति विशेष निगरानी राख्न सुरक्षा निकायलाई ब्रिफिङसमेत गरिएको छ।

प्रहरीले उम्मेदवारको सुरक्षा, भीड व्यवस्थापन र सूचनाको निरन्तर संकलनलाई प्राथमिकतामा राख्दै कुनै पनि सम्भावित घटनालाई नियन्त्रणमा लिन तयारी अवस्थामा रहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *