काठमाडौं । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा खोटाङमा विकास, पारदर्शिता र दिगोपनाका मुद्दा केन्द्रमा आउन थालेका छन्। नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ। पार्टीको निर्णयसँगै जिल्लामा नीतिगत बहसले गति लिएको छ।
दीर्घकालीन विकासमा जोड
वीरकाजी राईको चुनावी दृष्टिकोण अल्पकालीन लोकलुभावन घोषणाभन्दा दीर्घकालीन संरचनागत सुधारमा केन्द्रित देखिन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय पूर्वाधारलाई समग्र विकासको आधार मान्दै उनले पारदर्शी, जनमुखी र दिगो नीति निर्माणमार्फत जिल्लाको रूपान्तरण सम्भव हुने तर्क प्रस्तुत गर्दै आएका छन्। उनका अनुसार खोटाङजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्लामा सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण, खानेपानी व्यवस्थापन र युवा उद्यमशीलता प्रवर्द्धन प्राथमिक एजेन्डा बन्नुपर्छ। सामाजिक न्याय, समान अवसर र लोकतान्त्रिक मूल्यको संरक्षणलाई पनि उनले राजनीतिक प्रतिबद्धताको केन्द्रमा राखेका छन्।
संगठनबाट उठेको नेतृत्व
२०३१ कात्तिक–२५ गते केपिलासगढी गाउँपालिका–१ फेदीमा जन्मिएका राई ग्रामीण परिवेशबाट राजनीतिमा प्रवेश गरेका नेता हुन्। २०५० सालमा एसएलसी उत्तीर्ण गरी दिक्तेल बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नातक अध्ययन गरेका उनले २०४७ सालदेखि नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीति सुरु गरेका थिए।
पार्टी संगठनमा जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि लगायतका जिम्मेवारी सम्हालेका राईलाई कांग्रेसभित्र संगठनमा खारिएको, अनुशासित र सन्तुलित नेताका रूपमा हेरिन्छ। राई यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यसपटक पनि पुराना दलबीच कडा प्रतिस्पर्धा हुने संकेत छ। नेपाली कांग्रेसबाट वीरकाजी राई उम्मेदवार रहँदा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष देवविक्रम राई र नेकपाबाट डा. हरि रोका,श्रम संस्कृति पार्टीबाट आर्यन राई लगायतका अन्य पार्टीका थुप्रै मैदानमा छन्। साथै अन्य दलहरूबाट पनि उम्मेदवारी दर्ता भएको छ, जसले बहुदलीय प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह छन्। आगामी निर्वाचनका लागि १३६ मतदानस्थल र १९५ मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १ सय २० मतदाता कायम रहेका छन्।
नीतिगत बहस कि व्यक्तित्वको प्रतिस्पर्धा ?
राजनीतिक विश्लेषकहरूका अनुसार खोटाङमा यसपटकको चुनाव व्यक्तित्वभन्दा पनि नीतिगत दृष्टिकोणमा केन्द्रित हुनसक्छ। संघीय संरचनापछि स्थानीय आवश्यकता राष्ट्रिय बजेट र नीतिमा कसरी स्थापित गर्ने भन्ने प्रश्न प्रमुख बनेको छ। राईले संघीय बजेटमा खोटाङको न्यायोचित हिस्सा सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्ने र शिक्षा–स्वास्थ्य सुधारका ठोस कार्यक्रम अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको उम्मेदवारीलाई संगठनात्मक अनुभव र विकासप्रति दीर्घ दृष्टिकोणको संयोजनका रूपमा समर्थकहरूले व्याख्या गरेका छन्। नेपाली कांग्रेसका वर्तनमा सभापति गगन थापाले एक भिडियो अपिल गर्दै राई जिताउन सबै खोटाङवासी मतदाताहरुलाई आग्रह गरिसकेका छन् । उम्मेदवार राईको नैतिकता र पारदर्शीतालाई मतदाताले विश्वासका रुपमा लिनुपर्ने खोटाङको विकास गर्न सक्ने नेताका रुपमा सभापति थापाले चित्रण गरेका छन् ।
https://www.facebook.com/reel/1597894531324292
खोटाङको भौगोलिक जटिलता, आर्थिक सम्भावना र जनअपेक्षालाई सम्बोधन गर्न दीर्घकालीन सोच आवश्यक रहेकोमा राजनीतिक वृत्त सहमत देखिन्छ। यस्तो सन्दर्भमा वीरकाजी राईले अघि सारेको पारदर्शी, जनमुखी र दिगो विकासको एजेन्डा चुनावी मैदानमा कसरी अनुवाद हुन्छ भन्ने प्रश्न मतदाताको निर्णयसँग जोडिएको छ। आगामी निर्वाचनले केवल प्रतिनिधि चयन मात्र होइन, खोटाङको विकासको दिशा तय गर्ने अवसरका रूपमा पनि हेरिएको छ।




