देश

कीर्तिपुरबाट गगन थापाको सन्देश : देशलाई शान्त बनाउन घृणा र उत्तेजनाको राजनीति होइन, सहकार्यको भाषा र सहकार्य चाहिन्छ

 

काठमाडौँ । चुनावी माहोल तातिरहेका बेला नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र न.४ बाट प्रधानमन्त्रीको दाबेदार उम्मेदवार गगन थापाले देशलाई शान्त बनाउन   उत्तेजना र घृणाको भाषाबाट देश सञ्चालन सम्भव नहुने बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अघि बढाउन सबैलाई समेट्ने शैली र सहकार्यको भावना आवश्यक पर्ने धारणा राखे।

उनले भीड तान्न चर्को र उत्तेजक अभिव्यक्ति प्रयोग गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भाइरल हुने भाषणले मात्र राष्ट्र नचल्ने बताए। “देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा पर्याप्त हुँदैन, सहमति र टिमवर्क चाहिन्छ,” उनले भने।

चुनावी प्रचारको अन्तिम चरणमा प्रवेश गर्दै उनले आफ्ना नेता–कार्यकर्तालाई घोचपेच र आक्रामक अभिव्यक्तिबाट टाढा रहन आग्रह गरे। चुनावी प्रतिस्पर्धा विचार, योजना र एजेन्डामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्र मतदातासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न उनले निर्देशन दिए।

थापाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच नीतिगत बहस र कार्यक्रममाथि प्रतिस्पर्धा हुने अपेक्षा गरे पनि त्यसअनुसारको वातावरण बन्न नसकेको उल्लेख गरे। “हामीले एजेन्डामा प्रतिस्पर्धा गर्ने सोचेका थियौँ, तर अपेक्षाअनुसार बहस हुन सकेन,” उनले बताए।

चुनावी प्रतिस्पर्धा स्वाभाविक भए पनि लोकतान्त्रिक संस्कार जोगाउन संयमित भाषा र सभ्य आचरण आवश्यक रहेको उनको जोड थियो। देशलाई स्थिरता र सहकार्यको मार्गमा अघि बढाउन राजनीतिक नेतृत्वले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने सन्देश उनले दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *