काठमाडौं । रुकुम पश्चिमबाट उम्मेदवारी दिएका जनार्दन शर्माले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रणदेखि गरिबी उन्मूलनसम्मका योजना अघि सारेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी का उम्मेदवार शर्माले सार्वजनिक गरेको प्रतिबद्धतामा राजनीतिक विकृति र विसंगतिविरुद्ध कडा रूपमा उभिने उल्लेख छ। राजनीतिलाई व्यक्तिगत स्वार्थ र व्यापारको माध्यम बनाउने प्रवृत्तिको अन्त्य गर्दै जनमतको दुरुपयोग हुन नदिने उनको भनाइ छ।
प्रतिबद्धतापत्रमा गाली–गलौज र प्रतिशोधको राजनीति अन्त्य गरी पारदर्शिता, सादगी र जवाफदेहितामा आधारित राजनीतिक संस्कार विकास गर्ने लक्ष्य राखिएको छ। भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्दै सुशासन कायम गर्न नीतिगत सुधार र संस्थागत संरचना बलियो बनाउने योजना उनले अघि सारेका छन्।
रुकुमको आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी तथा पर्यटन क्षेत्रको अधिकतम उपयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ। स्थानीय स्रोत–साधनको परिचालनमार्फत गरिबी र बेरोजगारी न्यूनीकरण गर्ने उनको योजना छ।
त्यस्तै, सूचना प्रविधिको ज्ञान र प्रयोग विस्तार गरी युवालाई स्वरोजगार बनाउने, जिल्लामै रोजगारी सिर्जना गर्ने र सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आगामी १० वर्षभित्र गरिबी, बेरोजगारी र विभेदमुक्त समाज निर्माण गर्दै रुकुमलाई विकासको नमुना जिल्लाका रूपमा स्थापित गर्ने दाबी समेत शर्माले गरेका छन्।




