काठमाडौं । दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण किशोर घिमिरेले आफू विजयी भए राज्यबाट प्राप्त हुने तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका घिमिरेले दाङको बंगलाचुली गाउँपालिका–१ बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आर्थिक अभावका कारण पढाइबाट टाढा रहनुपरेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने अठोट व्यक्त गरे।
“राजनीति पदका लागि होइन, समाज परिवर्तनका लागि हो,” उनले भने, “निर्वाचित भएपछि पाउने सम्पूर्ण तलब–भत्ता विपन्न र दलित समुदायका छोराछोरीको शिक्षामा लगानी गर्नेछु।” उनले शिक्षालाई सामाजिक रूपान्तरणको आधारस्तम्भका रूपमा व्याख्या गर्दै राज्यबाट प्राप्त सुविधा समाजमै फर्काउने प्रतिबद्धता दोहोर्याए।
यसका साथै घिमिरेले दाङ–२ क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको जानकारी दिए।




