काठमाडौं । चुनावी माहोल तातेका बेला विमलेन्द्र निधी ले मधेशबाट निर्णायक सन्देश दिएका छन्। लोकतन्त्र र संविधान संकटमा परेको दाबी गर्दै उनले मधेश प्रदेशका आठवटै जिल्लामा नेपाली काँग्रेसलाई विजयी बनाउन सर्वसाधारणसँग आग्रह गरेका हुन्।
बुधबार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै निधीले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार अहिलेको शासन व्यवस्था जनताप्रति पूर्णरूपमा जवाफदेही देखिँदैन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भइरहेको छ।
उनले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा नेपाली काँग्रेसबाट मात्रै सम्भव हुने जिकिर गरे। विगतदेखि नागरिक अधिकारका पक्षमा संघर्ष गर्दै आएको पार्टी काँग्रेस नै भएको उल्लेख गर्दै उनले सबै वर्ग, जातजाति र समुदायको अधिकार संविधानमार्फत सुनिश्चित गरिएको दाबी गरे।
भाषणका क्रममा निधीले मधेशको विकास प्राथमिकताबारे पनि धारणा राखे। सडक तथा पुल निर्माण, स्वास्थ्य सेवा विस्तार, उच्च शिक्षाको पहुँच र कृषि क्षेत्रको आधुनिकीकरण अझै अधुरो रहेको उनले बताए। यी क्षेत्रको सुदृढीकरणका लागि काँग्रेस नेतृत्व आवश्यक रहेको उनको दाबी थियो।
उनले कार्यकर्तालाई घर–घरमा पुगेर मतदातालाई मतदानका लागि आग्रह गर्न निर्देशन दिए। “यो नियमित चुनाव मात्र होइन, लोकतन्त्र जोगाउने अवसर हो,” उनले भने, “रुख चिन्हमा मतदान गरेर मधेशको भविष्य सुरक्षित गरौँ।”
निधीले नयाँ भनिएका दलहरू मधेशवासीको भावनासँग खेल्न खोजिरहेको आरोप समेत लगाए। मतदातालाई सचेत रहन आग्रह गर्दै उनले मधेशको अधिकार र समृद्धिको यात्रामा काँग्रेसलाई बलियो समर्थन दिनुपर्ने बताए।
चुनाव नजिकिँदै जाँदा मधेशमा राजनीतिक गतिविधि तीव्र बनेका छन्। यस्तै सभामार्फत दलहरू मतदाता आकर्षित गर्ने अभियानमा सक्रिय देखिएका छन्।




