काभ्रेपलाञ्चोक । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं २ मा मधु आचार्य प्रतिस्पर्धामा रहेका छन् । पुस्तान्तरण, वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी रूपान्तरणको आवाज सशक्त उठाएर स्थापित गर्न सफल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका आचार्यको पार्टीमा ठूलो योगदान रहेको छ ।
२०३३ सालका राजनैतिक बन्दीका रूपमा ठूलोबुबा (प्रेमप्रसाद आचार्य) लाई धुलिखेल जेलमा गएर भेटेपछि उनको विद्रोहको आगो झनै रन्कियो । प्रजातन्त्र सेनानी रहेका बाबु ध्रुवप्रसाद आचार्य समेतको प्रेरणाले राजनीतिमा होमिएका उनी ०३५/३६ सालको विद्यार्थी आन्दोलनमा काठमाडौँ लैनचौरस्थित शान्ति विद्यागृह (अस्कल क्याम्पस नजिकै, लैनचौर) को नेविसंघ इकाइ सचिवका रूपमा उनको भूमिका सशक्त बन्यो ।
।
त्यस लगत्तै बहुदलको प्रचारप्रसारमा उनी गाउँ फर्किए । प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका मधु त्यसपछि अमृत साइन्स क्याम्पस हुँदै कोलम्बो प्लान अन्तर्गत भारतको इलाहावादमा सिभिल इन्जिनियरिङ्ग अध्ययन गर्न पुगे ।
‘नेपाली विद्यार्थी संघ’ को शाखा अध्यक्ष हैसियतमा भारतका विभिन्न सहरहरूमा पुगी प्रजातन्त्र पुनःस्थापनाका लागि नेपालीहरूलाई गोलबद्ध गर्न लागे । प्रथम श्रेणीमा इन्जिनियरिङ्ग पास गरेर फर्किएका मधु जागिरको खोजीतिर नलागी पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदल पुनः स्थापनाको आन्दोलनमा पुरै होमिए । तत्कालीन समयमा नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा रहँदैका अवस्थामा पनि मधु आचार्य गणतन्त्रको पक्षमा खरोसँग उभिएका थिए ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा उनको ठूलो योगदान रहेको छ । पहिलो पटक नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापति रहेका बेला २०६० सालतिर देशभरिका जिल्ला सभापतिहरूको भेला गराई ‘लोकतान्त्रिक गणतन्त्र’, ‘संविधान सभा र माओवादीसँग वार्ता गरी शान्ति स्थापनाको पहलकदमी’ जस्ता महत्वपूर्ण निर्णय गराउन सफल भएका थिए ।
नरहरि आचार्य, गगनकुमार थापासँग पार्टीमित्र ‘लोकतान्त्रिक गणराज्यका लागि कांग्रेस अभियान’ मा उनी सक्रिय थिए । उनी कांग्रेसको तर्फबाट ०६४ र ०७४ मा समेत उम्मेदवार थिए ।
उनको सामाजिक माधुर्य उत्तिकै रहेकाले जनजनको मन जितेर संसद भवन पुग्ने मार्ग स्पष्ट हुँदै गएको दाबीसमेत गरिएको छ ।




