काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं। २ मा आयोजित चुनावी सभामा सुन्दरहरैंचाको विकासमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै मतदातासँग समर्थनको अपिल गरेका छन्।
गत निर्वाचनमा उनीद्वारा गरिएको प्रतिबद्धता अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा आएर ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गर्दै कोइरालाले वडाको विकासमा उल्लेखनीय प्रगति भएको बताए। उनले भने, “विद्यार्थी सङ्ख्या बढ्दै जाँदा विकासले थप गति लिन्छ।”
सभामा उनले नदी नियन्त्रण, वृन्दावन गौशाला तटबन्ध, तेलिया खोला र गछिया खोला तटबन्ध, सडक तथा भवन निर्माण, मठ(मन्दिर संरक्षण, शैक्षिक संस्था विकास र खानेपानी आयोजना विस्तारमा भएका कामको विवरण प्रस्तुत गरे। सिँचाइ व्यवस्थामा प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै उनले भने, “एउटा डिप ट्युबवेल बिग्रिएको रहेछ, निर्वाचन लगत्तै नयाँ डिप ट्युबवेल जडान गरिन्छ।”
अन्तमा कोइरालाले मतदातालाई प्रत्यक्ष अपिल गर्दै भने, “सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई दिनुहोस्।”




