काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत ले कांग्रेस कहिल्यै पुरानो नहुने उल्लेख गर्दै नयाँ दलहरू केवल सामाजिक सञ्जालमै मात्र चर्चित हुने बताएका छन्। नुवाकोट बेल्कोटगढी फाँटापौवामा आयोजित संयुक्त चुनावी सभामा उनले जनताको हितमा काम गर्ने पार्टी कांग्रेस मात्र रहेको बताएका हुन्। महतले भने, “नयाँ पार्टी त कुन दुलोबाट आउँछ, कहाँ हराउँछ थाहै हुँदैन। हाम्रा प्रतिस्पर्धी दलले जनताको वास्तविक सेवा गर्न सक्दैनन्। मैले अर्थमन्त्री हुँदा नुवाकोटमा बजेट ल्याएको थिएँ, आलोचना पनि भयो।”
उनले पार्टी एकताबद्ध भएर चुनावमा लागेको जिकिर गर्दै भने, “अहिलेको चुनाव सामान्य होइन, त्यसैले कांग्रेस एकजुट भएर अघि बढेको छ। नुवाकोटमा पनि हामी एकजुट छौं र दुबै क्षेत्र जित्ने लक्ष्यमा छौं। जनताको दुःख–सुखमा उभिने पार्टी मात्र कांग्रेस हो।” उनको तर्क छ कि “नयाँ” भन्ने दलहरू केवल सामाजिक सञ्जालमा मात्रै चर्चा पाउँछन्, जनतासँग प्रत्यक्ष पहुँच भने उनीहरूलाई छैन।




