देश

विदेशी सैन्य उपस्थितिप्रति नेकपा (संयुक्त)को आपत्ति, भूराजनीतिकमाथि संवेदनशीलता बढेको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले सेना दिवस तथा महाशिवरात्रिको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित परेडमा अमेरिकी सेनाको सहभागिताप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल द्वारा जारी प्रेस वक्तव्यमा उक्त घटनाले सर्वसाधारणमा चासो, चिन्ता र विभिन्न प्रश्न उत्पन्न गरेको उल्लेख गरिएको छ ।

पार्टीले फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा भएको विदेशी सैन्य सहभागितालाई ‘अस्वाभाविक परिस्थिति’ को संज्ञा दिएको छ । वक्तव्यमा पछिल्ला केही घटनाक्रमले मुलुकको भूराजनीतिक संवेदनशीलता थप बढाएको दाबी गरिएको छ ।

गत भदौ २३–२४ मा ‘फ्रि तिब्बत’ समूहका गतिविधि, दलाई लामा द्वारा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की लाई पठाइएको बधाई सन्देश, तिब्बती धर्मगुरुलाई नेपाल प्रवेश दिइएको विषय तथा अदालतमा विचाराधीन संवेदनशील मुद्दामा सरकारी प्रभाव देखिएको आशंका—यी सबै पृष्ठभूमिमा टुँडिखेलमा अमेरिकी सेनाको उपस्थिति भएको भन्दै पार्टीले प्रश्न उठाएको छ ।

यसै सन्दर्भमा संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता पारित भइसकेको, स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्बन्धी विषय पनि संसदमा प्रवेश गरेको तथा विश्व राजनीति ‘नियममा आधारित व्यवस्था’ का नाममा हस्तक्षेपमुखी बन्दै गएको टिप्पणी वक्तव्यमा गरिएको छ ।

पार्टीले सरकारलाई निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन संवैधानिक तथा नैतिक दायित्व स्मरण गराउँदै राष्ट्रिय सरोकारका विषयमा उदासीन नहुन आग्रह गरेको छ । त्यसैगरी पटक–पटक सत्तामा पुगेका दल र तिनका नेताहरूलाई विदेश सम्बन्धलाई सत्ताकेन्द्रित खेल नबनाउन चेतावनी दिइएको छ भने नयाँ भनिएका राजनीतिक शक्तिहरूलाई समेत भूराजनीतिक विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आह्वान गरिएको छ ।

वक्तव्यमा नेपाली सेना को गौरवपूर्ण इतिहासमाथि नागरिकले प्रश्न उठाउनुपर्ने अवस्था सिर्जना हुन नदिन संस्थागत संवेदनशीलता अपनाउन सुझाव दिइएको छ ।नागरिक समाज, बौद्धिक वर्ग तथा सञ्चार माध्यमलाई जिम्मेवार बहस चलाउन आग्रह गर्दै पार्टीले नेपाल कहिल्यै उपनिवेश नरहेको स्वतन्त्र राष्ट्र भएकाले यसको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिको सम्मान गर्न विश्व समुदायसँग अपिलसमेत गरेको छ ।अ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *