देश

पुराना प्रतिबद्धता अधुरै, फेरि मत माग्दै रवि लामिछाने

काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले घरदैलो अभियान तीव्र बनाएका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार सुरु भएको घरदैलो कार्यक्रममा चितवनमा पनि उम्मेदवारहरू मतदातासमक्ष पुगेर आफ्ना योजना र प्रतिबद्धता दोहोर्‍याइरहेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा भने यसपटकको चुनाव विशेष चासोको विषय बनेको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्ला दुई निर्वाचनमा उनी फराकिलो मतान्तरसहित विजयी भएका थिए ।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उनले ४९ हजार २६१ मत प्राप्त गरी कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याउँदै उनले आफ्नै मत रेकर्डसमेत तोडेका थिए । घरदैलो अभियानका क्रममा लामिछानेले पार्टीको प्रभाव देशभर बढ्दै गएको दाबी गर्दै अब बलियो सरकार गठन हुने बताएका छन् । तर मतदाताले भने अघिल्ला चुनावमा गरिएका वाचा कार्यान्वयनबारे प्रश्न उठाइरहेका छन् । यसबारे उनले आफूलाई काम गर्न नदिइएको भन्दै प्रतिरक्षा गर्ने गरेका छन् ।

अघिल्लो निर्वाचनमा उनले संसदीय योजना तर्जुमा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएका थिए । स्थानीय तह, विज्ञ, गैरआवासीय नेपाली र जनप्रतिनिधिसहित बहुस्तरीय संरचना बनाउने योजना अघि सारिए पनि सो बोर्ड गठन हुन सकेन । चितवनलाई ‘आर्थिक राजधानी’ बनाउने गुरुयोजना, सैनिक ब्यारेक स्थानान्तरण गरी भरतपुर विमानस्थल विस्तार, सहरी जोनिङ प्रणाली, वैकल्पिक राजमार्ग र दोस्रो स्टक मार्केट स्थापनाजस्ता महत्वाकांक्षी योजना पनि सार्वजनिक भएका थिए । तीमध्ये विमानस्थल स्तरोन्नतिका लागि ब्यारेक सार्ने पहल सुरु भए पनि त्यसको श्रेयबारे विवाद रहँदै आएको छ । जनतासँग प्रत्यक्ष सम्पर्कका लागि ‘हेलो रवि’ हेल्पलाइन सेवा सञ्चालन गर्ने घोषणा गरिए पनि उक्त सेवा लामो समय टिक्न सकेन ।

सहकारी, साना उद्योग र कृषि उत्पादनको बजारीकरणमा ब्रान्ड एम्बेसडर बन्ने वाचा गरेका लामिछाने स्वयं सहकारी ठगी प्रकरणमा मुछिएपछि आलोचना बढेको छ । चितवनका सयौँ बचतकर्ताको रकम हिनामिनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको बताइन्छ ।
आवासीय विद्यालय, मोबाइल हेल्थ क्लिनिक, टेलिमेडिसिन सेवा, किसान–युवा विज्ञ टोली, लगानी सम्मेलन र अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने घोषणाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।

लामिछाने पक्ष भने कानुनी झमेलाका कारण काम गर्न नपाएको दाबी गर्दै आएको छ । पार्टीका नेताहरूले राजनीतिक रूपमा अल्झाइएकाले अपेक्षित काम अघि बढ्न नसकेको तर्क प्रस्तुत गरेका छन् । यसरी अघिल्ला प्रतिबद्धतामाथि प्रश्न उठिरहँदा लामिछाने तेस्रोपटक मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । अब मतदाताले पुराना वाचा मूल्याङ्कन गरेर कस्तो निर्णय लिन्छन् भन्ने चासो बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *