देश

पूर्वप्रधानमन्त्री देउवा निर्वाचन बाहिर रहँदा, प्रतिस्पर्धामा सुदूरपश्चिम

काठमाडौं । सुदूरपश्चिमको संसदीय राजनीतिमा लामो समय प्रभाव कायम राख्दै आएका शेरबहादुर देउवा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धाबाट बाहिर रहँदा प्रदेशका १६ निर्वाचन क्षेत्रको चुनावी गणित थप जटिल बनेको छ।

बहुदलपछिका अधिकांश चुनावमा नेपाली कांग्रेसलाई सुदूरपश्चिममा बलियो बनाएका देउवाको अनुपस्थितिले परम्परागत शक्ति सन्तुलनमा असर पर्ने आकलन गरिएको छ। २०४८ देखि विभिन्न चरणका निर्वाचनमा उनले डडेलधुरासहित कञ्चनपुर र कैलालीबाट समेत विजय हासिल गर्दै क्षेत्रीय प्रभाव कायम राखेका थिए।

पार्टीको नेतृत्व परिवर्तनपछि भने उनको भूमिकामा आएको शिथिलताले चुनावी माहोल फरक देखिएको विश्लेषण भइरहेको छ। यता नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टीबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदा वाम मत विभाजित देखिन्छ भने नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति पनि प्रभावकारी बन्ने संकेत छ।

यसैबीच कैलाली केन्द्रित नागरिक उन्मुक्ति पार्टी विभाजनपछि थप कमजोर अवस्थामा पुगेको छ। संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ फरक राजनीतिक धारमा लाग्दा थारुबहुल क्षेत्रमा मत परिणाम कसरी प्रभावित हुन्छ भन्ने चासो बढेको छ।

गत निर्वाचनमा सुदूरपश्चिमका १६ सिटमध्ये कांग्रेसले ८, एमालेले २ तथा नाउपा र एकीकृत समाजवादीले ३–३ सिट जितेका थिए। अहिले मतदाता संख्या वृद्धि भएसँगै प्रतिस्पर्धा झन् फराकिलो भएको छ। समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउने दलले मात्र सिट पाउने व्यवस्थाले साना दलको सम्भावना सीमित भए पनि क्षेत्रीय प्रभावले परिणाम उल्टिन सक्ने देखिन्छ।

कांग्रेस नेताहरूले विगतमा जितेका सिट जोगाएर थप २–४ सिट बढाउने दाबी गरेका छन्। यता एमाले उपमहासचिव लेखराज भट्टले १०–१२ सिट जित्ने दाबी गर्दै पार्टी एकताबद्ध भएकाले परिणाम अनुकूल आउने बताएका छन्।

नेकपाका नेता भीम रावलले पहाडी जिल्लामा त्रिपक्षीय प्रतिस्पर्धा हुने र आफ्नो पार्टीको उपस्थिति सशक्त देखिएको बताएका छन्। उता रास्वपाले पनि केही क्षेत्रमा सहज जितको दाबी गर्दै चुनावी लहर बढ्दो रहेको बताएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार देउवाको सक्रियता घट्दा कांग्रेसको मनोबलमा प्रभाव परेको देखिन्छ। सुदूरपश्चिममा पहिलेझैँ “प्रधानमन्त्री आफ्नै क्षेत्रबाट” भन्ने मनोवैज्ञानिक प्रभाव कमजोर हुँदा परम्परागत मत ध्रुवीकरणमा परिवर्तन आउने सम्भावना औँल्याइएको छ।

समग्रमा, पुराना शक्तिको आधार कायम रहे पनि नयाँ दल, वाम विभाजन र क्षेत्रीय दलको अवस्थाले सुदूरपश्चिमका १६ सिटको नतिजा अन्तिमसम्म अनिश्चित रहने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *