काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन परिचालन निर्देशिका–२०८२’ जारी गरेको छ। ३४ बुँदे परिपत्रमार्फत पार्टीले संगठनलाई एकताबद्ध बनाउँदै घरदैलोदेखि डिजिटल अभियानसम्म सशक्त रूपमा परिचालन गर्न निर्देशन दिएको हो।
केन्द्रीय समितिको निर्णयअनुसार सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदका लागि अघि सारिएको उल्लेख गर्दै कांग्रेसले चुनावी माहोल सकारात्मक बन्दै गएको दाबी गरेको छ। उक्त उम्मेदवारीलाई प्रभावकारी रूपमा मतदातासमक्ष प्रस्तुत गरी विश्वास आर्जन गर्न अभियान केन्द्रित गरिने परिपत्रमा उल्लेख छ।
आन्तरिक एकता र सभ्य प्रतिस्पर्धामा जोड
निर्देशिकाले चुनावको समयमा पार्टीभित्रका असहमति बिर्सेर एकजुट हुन आह्वान गरेको छ। “निर्वाचनको मैदान दुस्मनीको अखडा होइन,” भन्दै कांग्रेसले प्रतिस्पर्धी दलप्रति स्वस्थ टिप्पणी गर्ने, गालीगलौज नगर्ने र संयमित प्रस्तुति अपनाउने नीति लिएको जनाएको छ। निर्वाचन आयोगको आचारसंहिता पूर्ण पालना गर्ने, राष्ट्रिय झण्डाको सम्मान गर्ने र शान्तिपूर्ण वातावरण बनाउन प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ नारासहित पार्टीले विगतका उपलब्धि र कमजोरी दुवैलाई आत्मसात् गर्दै सुधारको प्रतिबद्धता व्यक्त गरेको छ। ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने सन्देशमार्फत नयाँ सोच र युवाका मुद्दा समेट्ने रणनीति अघि सारिएको छ।
साथै, सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिँदै डिजिटल अभियानलाई व्यवस्थित र मर्यादित बनाउन अनुगमन संयन्त्रसमेत सक्रिय गरिने जनाइएको छ।
५–५० रणनीति के हो ?
कांग्रेसले यस चुनावमा ‘५–५०’ रणनीति लागू गर्ने भएको छ। यसअनुसार ५ जना क्रियाशील सदस्यले ५० घरपरिवारसँग प्रत्यक्ष सम्पर्क राख्नेछन्। प्रत्येक टिमले आफ्नो जिम्मेवारी क्षेत्रमा प्रचार सामग्री पुर्याउने, मतदाता शिक्षा दिने र मतका लागि प्रेरित गर्ने काम गर्नेछ। ‘मतदाता शिक्षा’ सरकार मात्र होइन, दलहरूको पनि दायित्व भएको उल्लेख गर्दै स्थानीय तहका कार्यकर्तालाई यसमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ। कांग्रेसले निर्वाचनको समयमा कसैमाथि मानमर्दन नगर्ने जनाएको छ । चुनावी प्रचारका क्रममा घृणास्पद, भड्काउ अभिव्यक्ति प्रयोग नगरी धार्मिक, सांस्कृतिक विविधताको सम्मान गर्ने, प्रेससँग मैत्रीपूर्ण व्यवहार गर्ने,आर्थिक पारदर्शिता कायम गर्दै खर्च विवरण समयमै बुझाउने, विदेशस्थित जनसम्पर्क समितिलाई पनि अभियानमा जोड्ने जनाएको छ ।
पूर्वआप्रवासी, अवकाशप्राप्त जनशक्ति र पेसागत क्षेत्रसँग समन्वय बढाउने
कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने जनाएको छ। निर्देशिका कार्यान्वयनको जिम्मेवारी केन्द्रदेखि वडा तहसम्मका सबै पदाधिकारी र सदस्यमा रहने स्पष्ट गरिएको छ।
कांग्रेसको ३४ बुँदे चुनावी मार्गचित्रमा के छ ?
१) कुनै पनि राजनीतिक दलभित्र काम गर्ने क्रममा कतिपय विषयमा आपसी असमझदारी उत्पन्न हुन सक्छन्, यो स्वाभाविक हो । तर, निर्वाचनको समयमा आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सम्पूर्ण पार्टी पंक्ति ऐक्यबद्ध हुन जरुरी हुन्छ । यसलाई आत्मसात् गर्दै आ–आफ्नो तहमा सबै साथीहरूलाई प्रेरित गर्ने/गराउने ।
२) ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’का रूपमा अघि आएको तथ्य मतदातासमक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउने ।
३) केन्द्रीय समितिको बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदका लागि सर्वसम्मत रूपले अघि सारेपछि पार्टीको पक्षमा चुनावी माहौल बलियो बन्दै गएको छ । यो उम्मेदवारीलाई कुशल ढंगले मतदातासमक्ष स्थापित गर्दै मतदाताको विश्वास बलियो ढंगले आर्जन गर्नतर्फ चुनावी अभियानलाई केन्द्रित गर्ने ।
४) निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णतः पालना गरेर निर्वाचन अभियानलाई स्वस्थ र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने । निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने विषयमा स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गर्ने ।
५) राष्ट्रिय झण्डाको उच्च सम्मान सदैव गर्नुपर्ने दायित्व हामी सबै नेपालीको हो ।
– निर्वाचन आयोगले तोकेको संख्या र प्रयोगको विधि सबै दल, सबै उम्मेदवार र सबै थरी प्रचारकले पालना गर्न जरुरी छ ।
– राष्ट्रिय झण्डाको उच्च सम्मान र उच्च मर्यादा राख्ने सजगता चुनाव अभियान क्रममा कांग्रेसले संवेदनशीलता साथ राख्नेछ ।
६) विगतमा कांग्रेसको नेतृत्वमा देशले हासिल गरेका राजनीतिक र आर्थिकलगायतका उपलब्धिको टिपोट मतदाता समक्ष बुँदागत रूपमा प्रस्तुत गर्ने । आफूले गरेका कामको जगमा चुनाव लड्ने संस्कृतिको विकास गर्न बल पुर्याउने ।
७) विगतका उपलब्धिप्रति गर्व गरिरहँदा, विगतका कमी–कमजोरीको पहिचान र आत्मसात् पनि हामी गरिरहेका छौँ ।
८) चुनावी मैदानमा कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता गरिरहँदा, स्पष्ट गर्ने– ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ ।
– कमजोरी पहिचान गरेर नयाँ ढंगले अघि बढ्ने यात्रा प्रारम्भ भइसकेको तथ्यलाई दृढ ढंगले मतदातासमक्ष राख्ने ।
– पार्टीको प्रतिज्ञा पत्रको ‘भिजन १०’ हाम्रो दृष्टि, दायित्व र गन्तव्य हो । यसलाई मिडिया, सामाजिक सञ्जाल र प्रचार मञ्च मार्फत बुँदागत र बिस्तारित रूपमा मतदाता समक्ष राख्ने । निर्वाचनलाई संकल्प र मुद्दा केन्द्रित बनाउन सकारात्मक योगदान गर्ने ।
९) स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनीतिक प्रवृत्तिबाट होइन, स्थानीय नागरिक लाभान्वित हुन सक्ने कोणबाट टुंगोमा पुग्ने ।
१०) भौतिक निर्माणका परियोजनाबारे कुनै पनि क्षेत्रमा लहडका आधारमा होइन, पूरा गर्न सकिने ‘फिजिबल’ र लाभ हासिल गर्न सकिने ‘भायबल’ कोणबाट हेर्न, बुझ्न र टुंगोमा पुग्नुपर्ने हुन्छ ।
– राष्ट्रिय योजनाहरूबारे केन्द्रको टिमले दृष्टि निर्माण गर्नेछ, स्थानीय परियोजनाका सम्बन्धमा स्थानीय आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता पार्टीले राख्नुपर्नेछ, राख्नेछ ।
११) ‘निर्वाचनको मैदान दुस्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो’ ।
– चुनावी मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुस्मन होइनन् ।
– चुनावी प्रतिस्पर्धाका क्रममा यो संस्कृतिलाई सबैले आत्मसात् गर्न सकून् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नु छ ।
१२) नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ ।
– निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य मूलतः दलहरूकै हो, यसमा अन्य सबै दललाई घचघच्याउने भूमिकासमेत कांग्रेसले निर्वाह गर्नु छ र गर्नेछ ।
१३) घृणास्पद, उत्तेजक र भड्काव प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् । सामान्य र स्वस्थ प्रकृतिको व्यंग्य निर्वाचन मैदानमा स्वाभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व रहनेछ ।
१४) बदलिएको समयको अपेक्षा र बदलिएको कांग्रेसको संकल्पअनुरुप निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले नवयुवाका मुद्दा, भावना, सोच र सपनालाई आत्मसात् गर्नेछन् र ‘युवाका बदलिएका सपनाको सम्बोधन, बदलिएको कांग्रेसको नेतृत्वमा’ भन्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्नेछन् ।
१५) चुनाव प्रचारका क्रममा असल सांस्कृतिक परम्पराहरूप्रति मर्यादा राख्न उम्मेदवार र प्रचारक प्रतिबद्ध रहनेछन् ।
– कसैको पनि धार्मिक आस्थालाई चोट पुग्ने शब्द प्रयोग या व्यवहार प्रस्तुत विल्कुलै नगर्न र सबै विविधतालाई सम्मान गर्न उम्मेदवार र प्रचारकहरू संवेदनशील रहनेछन् र सजगता राख्नेछन् ।
१६) स्वतन्त्र प्रेसको सम्मान र मिडिया मैत्री व्यवहार नेपाली कांग्रेसको आधारभूत मान्यता हो ।
– हाम्रा उम्मेदवार एवं सबै तहको प्रचार समिति संयोजकले निर्वाचन मैदानमा प्रेसका प्रश्न, सुझाव र आलोचनालाई सहज आत्मसात् गर्नेछन् ।
– कुनै भ्रमपूर्ण समाचार प्रकाशित भए/गरिए त्यसलाई स्थापित विधिबमोजिम खण्डन या सम्बन्धित निकायमा ध्यानाकर्षण गर्नेछन् ।
१७) चुनावी अभियान ‘फिजिकल’ कम ‘डिजिटल’ बढी हुँदै गएको स्थितिअनुरुप सामाजिक सञ्जालको प्रयोगमा पार्टीका सबै सदस्य जागरुक ढंगले सहभागी हुनेछन् ।
– स्थानीय रूपमा जिम्मेवार टिम मार्फत निर्माण हुने सामग्री प्रयोग गर्नुसँगै, व्यक्तिगत रुपले कुनै प्रचार सामग्री बनाउँदा सम्पूर्णतः मर्यादित सामग्री बनाउनुपर्नेछ/ बनाउनेछन् ।
– निर्वाचन क्षेत्रमा रहेकोे अनुगमन समितिले आफ्नो क्षेत्रभित्र तथा केन्द्रमा रहेको सामाजिक सञ्जाल अनुगमन समितिले देशव्यापी रूपमा प्रचार सामग्री गुणस्तरको अनुगमन गर्नेछन्÷आवश्यक ठहर्दा परिमार्जनका लागि निर्देशन गर्नेछन् ।
१८) नेपाली कांग्रेसमाथि लाग्ने/लगाइने आरोपहरूलाई तथ्यपूर्ण ढंगले संयम र सहजसँग प्रचार सामग्री र प्रचार सभाहरूमार्फत दृढता साथ स्पष्ट गर्ने कार्य चुनाव प्रचारकहरूले गर्नेछन् ।
१९) पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित साथीहरूले आचारसंहिता उल्लंघन नहुने हदसम्म पार्टी र उम्मेदवारसँग समन्वय गरेर विजय अभियानलाई सघाउनेछन् ।
२०) विगतमा विभिन्न कारणवश पार्टी छोडेर गएका साथीहरू पार्टीमा फर्किने क्रम देशव्यापी रुपमा सुरु भएको यथार्थ दृष्टिगत गरेर कुनै पूर्वाग्रह नराखी पार्टीमा भित्र्याउने र उहाँहरूलाई आ–आफ्नो प्रभाव एरियामा सक्रिय हुन आग्रह गर्ने ।
२१) ‘२१ फागुनका लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ १ देखि २१ फागुनसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ’ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ ।
– केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीका साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत्तत् स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला÷क्षेत्र÷पालिका र वडामा केन्द्रित रहनुहुनेछ ।
– तोकिएको जिम्मेवारी लिएर अन्यत्र जानु भएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुहुनेछ ।
– एउटा वडाका साथीहरू सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौ’ उद्घोष साथ आ–आफ्नै वडामा खट्नुहुनेछ ।
२२) पार्टीका क्रियाशील सदस्यहरूले ५/५० को रणनीतिअनुरूप चुनावी अभियानमा कार्य गर्नुहुनेछ । अर्थात् आफ्नो भूगोलको ५० घरपरिवारसँग टिम बनाएर ५ क्रियाशील सदस्य निरन्तर सम्पर्कमा रहनुहुनेछ । स्थानीय वडा टोलमा पछिल्लो समय सकृयतापूर्वक अघि आउनुभएका साथीहरूसमेतको सहभागिता रहने र त्यस्तो टिमले जिम्मेवारीको ५० घरमा प्रचार सामग्री पुर्याउने र मतका लागि प्रेरित गर्ने कार्य गर्नेछ ।
२३) ‘मतदाता शिक्षा’को दायित्व सरकारको मात्रै होइन, दलहरूको पनि हो भन्ने यथार्थ मनन गर्दै पार्टीको स्थानीय तहका साथीहरू प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षाको कार्यमा जिम्मेवारी बाँडफाँट गरेर समर्पित ढंगले लाग्नू हुनेछ ।
२४) भ्रातृ/शुभेच्छुक र जिल्ला सम्पर्क समितिले निर्देशिकाको भाव अनुरुपका कार्यसम्पादन आ–आफ्नो संस्थाको जिम्मेवारी क्षेत्रमा गर्ने/गराउनेछन् । आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मूलत: ‘डिजिटल मुभ’मा प्रेरित गर्नेछन् । ‘घर–घर जाऔँ कांग्रेस जिताऔं’ अभियानमा जिल्ला सम्पर्क समिति केन्द्रित हुनेछन् ।
२५) विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूले समग्रमा नेपाल भरिका लागि तथा आफू व्यक्तिगत रूपले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका लागि समन्वय र प्रचारको कार्य गरिरहँदा बिदेशमा रहेका बढीभन्दा बढी नेपालीको सम्पर्कमा पुग्नेछन् ।
२६) मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागुऔषध दुर्व्यसनलगायतका अनेक सामाजिक विसंगतिको अन्त्य गर्ने संकल्प हामीले गर्नु छ । चुनावी अभियानका क्रममा हाम्रा उम्मेदवार र प्रचारकहरूले यो विषयलाई सर्वपक्षीय दायित्वका रूपमा सम्प्रेषण गर्नेछन् र सोहीबमोजिमको उत्प्रेरणा भर्न कृतसंकल्पित रहनेछन् । प्रचार अभियानमा कहीँ पनि बालबालिका प्रयोग कानुन र संस्कार दुवैको विपरीत हुन्छ । यस्तो हुन नदिन पार्टीका सबै तह सजग र संवेदनशील रहनेछन् ।
२७) ‘श्रमिक र कृषकको सम्मान, अन्ततः सबैको सम्मान’ भन्ने भावका साथ मत जित्नुअघि मन जित्ने अठोटमा हाम्रा प्रचार अभियानहरू संवेदनशील रहनेछन् ।
२८) आगामी संसदबाट विद्यमान संविधानमा आवश्यक संशोधन गरेर यसलाई अझ समयानुकूल र अझ बलियो बनाउन नेपाली कांग्रेस प्रतिबद्ध छ । निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले यसबारे नागरिक अभिमत गहन आत्मसात् गर्नेछन् ।
२९) प्रचार अभियान अघि बढाउन जरूरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठूला साना व्यवसायीलाई देशभर कहीँ पनि दबाब नदिने । ‘साझा दायित्व/साझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने ।
३०) पूर्वशिक्षक, पूर्वसैनिक, पूर्वप्रहरी, पूर्वकर्मचारीलगायत अवकाश प्राप्त सबैको पछिल्लो जीवनलाई ऊर्जाशील बनाएर समाजका लागि सही उपयोगमा ल्याउन जरुरी छ । निर्वाचन प्रचार अभियानका क्रममा देशव्यापी रूपमा यो नेटवर्कलाई व्यापक सम्पर्कमा ल्याउन, जिम्मेवारीमा समेट्न र पार्टीको विजय अभियानमा सक्रिय बनाउन हरेक निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरूले निश्चित संयन्त्र बनाएर कार्य गर्नेछन् ।
३१) केही वर्ष विदेशमा बिताएर गाउँ फर्किएका हजारौँ नेपाली युवा गाउँहरूमा छन् । अध्ययन, काम या व्यवसायबाट फर्किएकाहरूको गाउँ समाजमा आ–आफ्नै ढंगको सम्पर्क र प्रभाव छ । विगतमा पार्टीले निर्माण गरेको पूर्वआप्रवासी विभागमार्फतको कार्ययोजनाबमोजिम पार्टीका स्थानीय नेटवर्क सम्पर्क, समन्वय र परिचालनमा पुग्नेछ, पुग्नुपर्नेछ ।
३२) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको ‘सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका’लाई कार्यान्वयन गरेर पार्टीका कार्यक्रमहरू व्यवस्थित गर्न गराउन पार्टीका सबै तहले भूमिका निर्वाह गर्नेछन् ।
३३) विजयी अभियान अघि बढाइरहँदा हरेक निर्वाचन क्षेत्रमा पेसागत क्षेत्र र बुद्धिजीवीहरूको ‘फिड ब्याक’ हाम्रा स्थानीय समिति र उम्मेदवारहरूले निरन्तर लिनेछन् । प्राप्त सुझावहरूका आधारमा विजय अभियानलाई आवश्यक परिमार्जन र थप व्यवस्थित बनाउनेछन् ।
३४) यो निर्देशिका कार्यान्वयन गर्ने गराउने दायित्व पार्टीका सबै उम्मेदवार, केन्द्रदेखि वडा टोल तहसम्मका कार्यसमिति पदाधिकारी र सबै सदस्यको हुनेछ ।
के हो कांग्रेसको ५/५० रणनीति ?
नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनको लागि ५/५० को रणनीतिक कार्यक्रम ल्याएको छ । ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका– २०८२’सम्बन्धी परिपत्रमार्फत कांग्रेसले नागरिकको घरघरसम्म पुग्ने गरी यस्तो कार्यक्रम ल्याएको हो ।
‘पार्टीका क्रियाशील सदस्यहरूले ५/५० को रणनीतिअनुरूप चुनावी अभियानमा कार्य गर्नुहुनेछ । अर्थात् आफ्नो भूगोलको ५० घरपरिवारसँग टिम बनाएर ५ क्रियाशील सदस्य निरन्तर सम्पर्कमा रहनुहुनेछ,’ कांग्रेसको निर्वाचन परिचालन निर्देशिकामा भनिएको छ, ‘स्थानीय वडा टोलमा पछिल्लो समय सक्रियतापूर्वक अघि आउनुभएका साथीहरू समेतको सहभागिता रहने त्यस्तो टिमले जिम्मेवारीको ५० घरमा प्रचार सामग्री पुर्याउने र मतका लागि प्रेरित गर्ने कार्य गर्नेछ ।’
‘मतदाता शिक्षा’को दायित्व सरकारको मात्रै नभई दलहरूको पनि भएको कांग्रेसको भनाइ छ । यसैले पार्टीको स्थानीय तहका साथीहरू प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षाको कार्यमा जिम्मेवारी बाँडफाँट गरेर समर्पित ढंगले लाग्न पनि कांग्रले परिपत्रमार्फत निर्देशन दिएको छ ।
भ्रातृ/शुभेच्छुक र जिल्ला सम्पर्क समितिले निर्देशिकाको भाव अनुरुपका कार्यसम्पादन आ–आफ्नो संस्थाको जिम्मेवारी क्षेत्रमा गर्ने/गराउने उल्लेख छ । ‘आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मूलत: ‘डिजिटल मुभ’ मा प्रेरित गर्नेछन् । ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा जिल्ला सम्पर्क समिति केन्द्रित हुनेछन्,’ कांग्रेसको परिपत्रमा भनिएको छ ।




