काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई चार फरक राजनीतिक धारबीचको प्रतिस्पर्धाका रूपमा चित्रण गरेको छ। सार्वजनिक घोषणापत्रमार्फत नेकपाले आफूलाई क्रान्तिकारी शक्ति दाबी गर्दै अन्य दलहरूलाई यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी शक्तिका रूपमा वर्गीकरण गरेको हो। घोषणापत्रअनुसार पहिलो धार ‘क्रान्तिकारी शक्ति’ हो, जसको प्रतिनिधि नेकपा रहेको दाबी गरिएको छ। पार्टीले समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अंगाल्ने एकमात्र राजनीतिक शक्ति आफू रहेको उल्लेख गरेको छ।
दोस्रो धार ‘यथास्थितिवादी शक्ति’ भन्दै नेकपा एमाले र नेपाली कांग्रेसलाई समेटिएको छ। घोषणापत्रमा यी दलहरूले मुलुकलाई विद्यमान संकटबाट अगाडि बढाउने कुनै नयाँ अवधारणा प्रस्तुत गर्न नसकेको र पुरानै अवस्थालाई निरन्तरता दिन चाहेको आरोप लगाइएको छ। तेस्रो धारका रूपमा उल्लेख गरिएको ‘पपुलिष्ट शक्ति’ लाई नेकपाले आफूलाई नयाँ भन्ने तर सिद्धान्तहिन र दृष्टिकोणविहीन शक्ति भनेको छ। घोषणापत्रमा यो शक्ति भदौ २४ को विध्वंससँग जोडिएको उल्लेख गर्दै देशका गम्भीर समस्या समाधान गर्ने कुनै ठोस वैचारिक आधार नरहेको बताएको छ । यस्तो शक्ति देश र जनताको हितमा काम गर्न नसक्ने निष्कर्ष नेकपाले निकालेको छ।
चौथो धार ‘प्रतिगामी पुनरुत्थानवादी शक्ति’ भन्दै राप्रपालाई इंगित गरिएको छ। नेकपाका अनुसार उक्त शक्ति जनक्रान्तिबाट अन्त्य गरिएको सामन्ती राजतन्त्र पुनःस्थापना गर्न खोजिरहेको छ, जसले देशलाई अगाडि होइन पछाडि धकेल्ने प्रयास मात्र गर्नेछ। घोषणापत्रमा मतदातालाई यी चार शक्तिमध्ये स्पष्ट दृष्टिकोण र योजनासहित मुलुकलाई अगाडि लैजान सक्ने शक्ति छान्न आग्रह गरिएको छ। नेकपाले विगतका क्रान्तिकारी संघर्षमार्फत लोकतन्त्र, नागरिक अधिकार, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षता स्थापित गर्न आफूले नेतृत्व गरेको स्मरण गराएको छ।
“व्यवस्था बदल्यौँ, अब अवस्था पनि बदल्छौँ,” घोषणापत्रमा उल्लेख छ। नेकपाले अरूले गफ गर्ने तर आफूहरूले काम गर्ने दाबी गर्दै विगतका कमजोरीप्रति आत्मालोचनासहित सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। पार्टीले राष्ट्रिय स्वाधीनताको सुदृढीकरण, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समतामूलक समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादतर्फको अग्रसरतालाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। साथै संविधानको सकारात्मक पक्षको रक्षा गर्दै आवश्यक परिमार्जन, समावेशी लोकतान्त्रिक संरचना निर्माण, मौलिक हकको व्यवहारिक कार्यान्वयन र सीमान्तीकृत वर्ग तथा समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्याइएको छ। नेकपाले तारा चुनाव चिन्हमा मतदान गरी व्यवस्था बदलेझैँ देशको अवस्था पनि बदल्ने अवसर दिन मतदातासँग अपिल गरेको छ।




