देश

भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री न्यौपाने नेकपामा प्रवेश, प्रचण्डको निर्णयले उठायो नैतिकताको प्रश्न

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट नौ वर्षभन्दा बढी कैद सजाय सुनाइएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्षसमेत रहेका न्यौपानेलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार औपचारिक रूपमा पार्टीमा स्वागत गरेपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले २०७९ फागुन २६ गते न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी जेल नजाँदै राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री रहेका बेला समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपको ६० रोपनी जग्गा नियमविपरीत अत्यन्त सस्तो दरमा फनपार्कलाई भाडामा दिएर संस्थालाई आर्थिक क्षति पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते न्यौपानेसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सुरुमा धरौटीमा छुटेका उनी अन्तिम फैसलामा दोषी ठहर भएका हुन् ।

यो मुद्दामा तत्कालीन कांग्रेस सांसद टेकबहादुर गुरुङसहित नौ जना दोषी ठहर भएका थिए । गुरुङलाई जरिवाना तोकिए पनि न्यौपानेलाई जस्तो कैद सजाय भने सुनाइएको थिएन । अन्य प्रतिवादीहरूमाथि पनि कैद, जरिवाना र बिगो भराउने फैसला भएको थियो ।

न्यौपानेले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका छन् । अख्तियार र न्यौपाने दुवै पक्ष सर्वोच्च पुगेकाले मुद्दा अझै विचाराधीन छ । यद्यपि, विशेष अदालतको गम्भीर सजाय कायम रहँदै गर्दा पनि उनलाई राजनीतिक दलले खुलेर स्वागत गर्नुले दलहरूको सुशासन र नैतिक प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२ अत्रौलीका न्यौपानेले कांग्रेसबाट राजनीति सुरु गरेका थिए । २०६४ सालतिर चुरे भावर आन्दोलनमार्फत उदाएका उनी समानुपातिक सांसद बने । पछि तत्कालीन नेकपामा प्रवेश गरी केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टीमा केन्द्रीय सदस्यसमेत भए । पार्टी विभाजनपछि एमाले हुँदै २०७९ को निर्वाचनपछि प्रभु साह नेतृत्वको आमजनता पार्टीमा पुगेका न्यौपाने अहिले पुनः नेकपातर्फ फर्किएका हुन् ।

नेकपा र चुरे भावर पार्टीबीच माघ १३ गते भएको सहमतिअनुसार चुरे भावर पार्टीलाई नेकपामा समायोजन गरिएको छ । सहमतिपत्रमा न्यौपानेसहितका नेताहरूलाई योग्यता अनुसार पार्टीका विभिन्न तहमा समायोजन गर्ने र आगामी निर्वाचनमा नेकपाका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने उल्लेख छ ।

भ्रष्टाचारमा दोषी ठहर भइसकेका, सजाय कार्यान्वयनमा नआएका र मुद्दा सर्वोच्चमा विचाराधीन रहेको व्यक्तिलाई पार्टीमा स्वागत गर्नुले ‘सुशासन’ र ‘नैतिक राजनीति’को नारामाथि नै प्रश्न खडा गरेको छ । अदालतको अन्तिम फैसला नआएसम्म कानुनी रूपमा निर्दोष मानिने तर्क प्रस्तुत गरिए पनि राजनीतिक दलले अपनाउने नैतिक मापदण्ड कति कमजोर हुँदै गइरहेको छ भन्ने उदाहरणका रूपमा यो घटनालाई हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *