काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर–२ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका मिलन गुरुङ उर्फ चक्रे मिलन यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन् । मतदातासँग प्रत्यक्ष भेटघाटका क्रममा उनले आफूलाई लक्षित गर्दै प्रयोग गरिने ‘गुण्डा’ आरोपप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
घरदैलोको क्रममा मतदातासँग संवाद गर्दै चक्रे मिलनले समाजमा ‘गुण्डा’ को परिभाषा नै उल्टो ढंगले प्रयोग भइरहेको दाबी गरे । उनले प्रश्न गरे, “सिंहदरबार जलाउने, अदालत जलाउने, देशको सम्पत्ति नष्ट गर्ने गुण्डा होइनन् र ? भ्रष्टाचार गर्ने, सहकारी ठग्ने गुण्डा होइनन् र ?” भन्दै आफूलाई मात्र लक्षित गरेर आरोप लगाइने प्रवृत्तिप्रति आपत्ति जनाए ।
आफ्नो विगतलाई लिएर हुने आलोचनाबारे बोल्दै उनले सामान्य जीवनका उदाहरण प्रस्तुत गर्दै हिंसालाई अतिरञ्जित रूपमा चित्रण गरिएको संकेत गरे । नजिकै उभिएका एक व्यक्तिलाई देखाउँदै उनले युवावस्थामा सामान्य झगडा–झैझगडा धेरैले गरेको हुने भन्दै आफूलाई मात्र अपराधीकरण गरिएको टिप्पणी गरे ।
चक्रे मिलनको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ । केही प्रयोगकर्ताले उनको स्पष्ट र आक्रामक शैलीलाई ‘सिस्टमविरुद्धको आवाज’ भन्दै समर्थन गरेका छन् भने धेरैले हिंसा र आपराधिक पृष्ठभूमिलाई सामान्यीकरण गरेको आरोप लगाउँदै आलोचना गरेका छन् ।
यसैक्रममा सामाजिक सञ्जाल प्रयोगकर्ता मदन लक्रान्द्रीले कटाक्षपूर्ण टिप्पणी गर्दै “जाबो मान्छे मारेको मात्रै त हो, के गुण्डा होइन त ?” भन्दै उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । चक्रे मिलनको घरदैलो अभियानसँगै उनका भनाइहरूले चुनावी बहसलाई थप तातो बनाएको छ । समर्थक र आलोचकबीचको मतभेदले गोरखा–२ को चुनावी माहोल अझ चर्किँदै जाने संकेत देखिएको छ ।




