काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नेकपा नेता तथा जाजरकोटबाट उम्मेदवार रहेका शक्ति बस्नेतसँग स्पष्टीकरण माग गरेको छ।
आयोगका अनुसार माघ ६ गते प्राप्त उजुरीमाथि प्रारम्भिक छानबिन गर्दा बस्नेतले बाजागाजासहित निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको हो। सोही आधारमा आयोगले उनीसँग लिखित स्पष्टीकरण माग्दै पत्राचार गरेको जनाएको छ।
आयोगले जारी गरेको पत्रमा आचारसंहिता उल्लङ्घन भएको देखिएकाले निर्वाचन कानून बमोजिम कारबाही किन नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ पेस गर्न भनिएको छ। पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं उपस्थित भएर वा प्रतिनिधिमार्फत जाजरकोट निर्वाचन कार्यालय अथवा निर्वाचन आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ।
निर्धारित समयभित्र स्पष्टीकरण नआएमा कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत आयोगले दिएको छ।




