काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ताका लागि सोमबार रूकुम आइपुगेका छन्। उनी तारा एयरको चार्टर्ड विमानमार्फत दिउँसो सल्ले विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा अवतरणलगत्तै प्रचण्ड कार्यकर्ता र समर्थकको नाराबाजीबीच रूकुम पश्चिमको मुसिकोटतर्फ प्रस्थान गरे। मुसिकोट नगरपालिका–५ सेरिगाउँस्थित सहिद स्मृति प्रतिष्ठानको पार्टी कार्यालयमा पुगेर उनले रूकुम पश्चिमबाट उम्मेदवार बनेका गोपाल शर्मालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका थिए।
सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरे। “यसपटक हामी पहिलो पार्टी बन्छौं, न्यायप्रेमी जनताले हामीलाई साथ दिने विश्वास छ,” उनले भने।
प्रचण्ड सोमबार राति रूकुम पूर्वको सदरमुकाम रूकुमकोटमा बस्ने कार्यक्रम छ। त्यसपछि मंगलबार प्रतिनिधिसभा सदस्य पदका लागि रूकुम पूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।




