देश

समाजवाद उन्मुख एकताको घोषणा, प्रगतिशील र क्रान्तिकारी शक्तिबीच ६ बुँदे समझदारी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच राजनीतिक एकता गर्ने उद्देश्यसहित ६ बुँदे सहमति भएको छ। दुवै पक्षले लोकतान्त्रिक मूल्य, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षण गर्दै समाजवादतर्फ अग्रसर हुने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार सम्पन्न सहमतिअनुसार जेन–जी जनआन्दोलनको मर्मलाई आत्मसात गर्दै आन्दोलनका सहिद तथा घाइते परिवारका माग सम्बोधन गर्न संयुक्त पहल गरिनेछ। साथै, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै राज्यका प्रमुख अङ्ग—व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा आवश्यक पुनर्संरचनाका लागि पहल गर्ने उल्लेख गरिएको छ।

सहमतिमा संगठनात्मक एकता गर्दा सचिवालयदेखि सबै तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिने र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संयुक्त उम्मेदवार अघि सार्ने निर्णय गरिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा विवरण अध्यावधिक गर्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

एकतासँगै प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘खुलेको आँखा’ अन्तर्गत गोलबद्ध भई लोकतन्त्र, सुशासन र परिवर्तनका पक्षमा संगठित रूपमा अघि बढ्ने सहमतिमा उल्लेख छ। नीति निर्माणमा अध्ययन, अनुसन्धान र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक विभेद, गरिबी र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने साझा संकल्प पनि जनाइएको छ।

सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका निर्वाचन परिचालन तथा वार्ता–संवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानका संयोजक दलसिंह खत्रीले हस्ताक्षर गरेका छन्।

दुवै पक्षले यो एकतालाई वैकल्पिक र प्रगतिशील राजनीतिक शक्तिको सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *