काठमाडौँ । आफूलाई ‘जेनजी’ अभियन्ता भन्दै विभिन्न सरकारी निकायमा दबाब र धम्की दिएको आरोप लागेका अर्जुन शाही फेरि कानुनी घेरामा परेका छन् । जेनजी आन्दोलनपछि दोस्रो पटक पक्राउ परेका शाहीमाथि ठगी तथा बैंकिङ कसुरमा अनुसन्धान अगाडि बढाउन प्रहरीले म्याद लिने तयारी गरेको छ ।
प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका शाहीमाथि एक व्यक्तिबाट आठ तोला सुन ठगी गरेको र ११ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको आरोप छ । ती दुवै कसुरमा पक्राउ पुर्जी जारी भइसकेको र आजै म्याद लिएर अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन भट्टराईका अनुसार हाल ठगी र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ । “अन्य केही पीडितले पनि सम्पर्क गरिरहेका छन् । जाहेरी दर्ता भएमा त्यसअनुसार थप अनुसन्धान अघि बढाइन्छ,” उनले बताए ।
शाही बुधबार साँझ काठमाडौँको ठमेलस्थित कालधाराबाट पक्राउ परेका हुन् । यसअघि जेनजी आन्दोलनको क्रममा पनि उनी कोटेश्वरबाट पक्राउ परेका थिए । त्यो मुद्दामा उनी धरौटीमा छुटेका थिए ।
प्रहरीका अनुसार जेनजी आन्दोलनअघि नै शाही वैदेशिक रोजगारी ठगीसम्बन्धी कसुरमा पनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा पक्राउ परिसकेका थिए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थायी घर भएका २६ वर्षीय शाही नेतृत्वको समूहले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयसम्म पुगेर अनुगमन तथा ज्ञापनपत्रको नाममा कर्मचारीहरूलाई धम्क्याउने गतिविधि गरेको आरोपसमेत लागेको छ ।




