देश

आन्दोलनका माग जायज, हिंसात्मक गतिविधिमा शून्य सहनशीलता चाहिन्छ: माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सह(संयोजक माधवकुमार नेपालले भदौ २३ गते भएको आन्दोलनका मागहरू स्वाभाविक र उचित रहेको बताएका छन्। तर त्यसपछिल्लो दिन भएका आगजनी, लुटपाट र विध्वंसका घटनालाई उनले स्पष्ट रूपमा आपत्तिजनक र कानुनतः दण्डनीय ठहर गरेका छन्।

उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले निर्वाचनसँगै राज्य संरचनाभित्र देखिएका कमजोरी सुधार्ने जिम्मेवारी वर्तमान सरकारकै काँधमा रहेको उल्लेख गरे।

उनका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र सामाजिक सञ्जालमाथिको बन्देज हटाउने माग जनताका मौलिक अपेक्षासँग जोडिएका थिए। “सत्तामा पुगेकाहरूमा शक्ति मोह बढेपछि संवादमार्फत समस्या समाधान गर्ने संस्कृति कमजोर भयो,” नेपालले भने, “सत्तामा बस्ने व्यक्तिहरूका कमजोरीकै कारण यस्तो परिस्थिति आएको हो।”

तर भदौ २४ गते भएको आगजनी, लुटपाट र तोडफोडप्रति कडा असन्तुष्टि जनाउँदै उनले यस्ता गतिविधिमा सरकार गम्भीर देखिन नसकेको टिप्पणी गरे। सार्वजनिक भइसकेका भिडियो र सिसिटिभी फुटेजले घटनामा संलग्नहरूको पहिचान स्पष्ट भइसके पनि कारबाहीमा ढिलाइ हुनु सरकारकै भूमिकामाथि प्रश्न उठ्ने अवस्था भएको उनले बताए।

उनले शान्तिपूर्ण माग र हिंसात्मक गतिविधिको स्पष्ट विभेद गर्न सरकारलाई आग्रह गर्दै कानुनको कार्यान्वयनमा दृढता देखाउन आवश्यक रहेको औँल्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *