काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको भेटवार्ता चलिरहँदा बाहिर अप्रत्याशित घटनाक्रम देखिएको छ। दुई नेताबीच सहमति नभएसम्म कोठाबाट बाहिर ननिस्कन आग्रह गर्दै जेनजी अभियन्ता सुदन गुरुङले घरको मुख्य गेटमै ताला लगाइदिएका छन्।
ललितपुरस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा भइरहेको छलफलका क्रममा गुरुङले गेटमा ताला लगाउँदै ‘दुवै नेता मिलेर मात्र बाहिर आउनुपर्ने’ सर्त सार्वजनिक रूपमा राखेका हुन्। सामाजिक सञ्जालमा फैलिएको भिडियोमा गुरुङले भनेका छन्, “हाम्रा दुई नेता भित्र हुनुहुन्छ। जबसम्म सहमति हुँदैन, यो गेट खुल्दैन।”
गुरुङले आफूहरू अस्थायी रूपमा ‘गार्ड’ बनेर बसेको दाबीसमेत गरेका छन्। “कोही भित्र छिर्दैन, कोही बाहिर जाँदैन। हामी यहाँ निगरानीमा बसेका छौँ,” उनले भिडियोमा बताएका छन्।उनले सहमति नजुटेसम्म जाडो, रात वा जुनसुकै अवस्था आए पनि ताला नखोलिने अडान लिएका छन्। “दुवै जना मिलेर मात्र बाहिर आउँछन्, नत्र आउँदैनन्,” गुरुङको भनाइ छ।
भित्र रहेका नेताहरूले साँचो मागेमा के गर्ने भन्ने प्रश्नमा गुरुङले साँचो आफूहरूले सुरक्षित राखिसकेको प्रतिक्रिया दिएका छन्। “साँचो हामीले बोकिसक्यौँ,” उनले भने।
आगामी निर्वाचनमा सम्भावित सहकार्यको विषयमा छलफल गर्न बालेन र रवि बिहीबार भेटवार्तामा जुटेका थिए। यही भेटलाई लिएर गुरुङले दुई नेतामाथि सार्वजनिक दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो कदम चालेको बताइएको छ। यस घटनाले राजनीतिक भेटघाटसँगै बाहिरको दृश्यलाई समेत चर्चाको विषय बनाएको छ।




