देश

रवि–बालेन संवादपछि वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति भएको लामो भेटवार्ताले नेपाली राजनीतिमा नयाँ सम्भावनाको ढोका खोलेको छ। करिब पाँच घण्टा चलेको संवादमा दुवै पक्ष वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याएर सहकार्य गर्ने विषयमा सहमत देखिएका छन्।

यो भेटवार्ता मिलाउने भूमिकामा रास्वपाका केन्द्रीय सदस्य असिम शाह सक्रिय रहे। असिमकै कार्यालयमा भएको छलफललाई सहभागीहरूले ‘आइस ब्रेक’को रूपमा व्याख्या गरेका छन्। तत्काल कुनै औपचारिक निर्णय नभए पनि छिट्टै अर्को चरणको वार्ता गरी सहकार्यको खाका तय गर्ने तयारी भइरहेको बताइएको छ।

असिम शाहका अनुसार यो भेट चुनावी तालमेलभन्दा पनि दीर्घकालीन राजनीतिक सहकार्यका लागि भएको हो। “यो एउटा जेनेरेसनको प्रतिनिधित्व गर्ने वैकल्पिक राजनीति निर्माण गर्ने प्रयास हो,” उनको भनाइ छ। भेटमा प्रधानमन्त्रीको सम्भावित भूमिकाबारे समेत अनौपचारिक चर्चा भएको उनले स्वीकार गरेका छन्। “रवि दाइलाई कानुनी समस्या रहे प्रधानमन्त्रीमा सार्ने त बालेन नै हो,” असिमले भनेका छन्।

रवि र बालेनबीच यसअघि पनि औपचारिक भेट भएको भए पनि पछिल्लो संवाद व्यक्ति–व्यक्तिको बुझाइ स्पष्ट गर्ने खालको रहेको बताइएको छ। भेटपछि दुवैले एक–अर्कालाई नजिकबाट बुझ्ने अवसर पाएको र विश्वासको वातावरण बनेको सहभागीहरूको दाबी छ।

यता, मंगलबार चितवन अदालतमा तारेख लिन पुगेका रवि लामिछानेले बालेनसँगको भेटवार्ताबारे सार्वजनिक प्रतिक्रिया दिएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा परिवर्तन चाहने नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए। “यो भेट त्यही प्रयासको एउटा महत्वपूर्ण कडी हो,” उनले भने।

प्रधानमन्त्रीको साझा उम्मेदवारको चर्चा चलेको विषयमा भने लामिछानेले अहिले नै त्यो चरणमा नपुगेको स्पष्ट पारे। “पहिला त संवाद र आपसी बुझाइ आवश्यक छ। हतार गरेर निष्कर्षमा पुगिँदैन,” उनले भने।

लामिछानेले बालेन शाहबाहेक अन्य वैकल्पिक शक्तिहरूसँग पनि निरन्तर संवाद भइरहेको जानकारी दिए। सोमबारको भेटलाई सुरुवातको बिन्दु मानिएको छ भने अबको चरणमा निरन्तर भेटघाट र छलफलमार्फत सहकार्यलाई औपचारिक रूप दिने तयारी भइरहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *