काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइरहँदा काठमाडौँ–१ मा आन्तरिक विवाद सतहमा आएको छ। एउटै निर्वाचन क्षेत्रमा दुई फरक समूहबाट छुट्टाछुट्टै नाम सिफारिस भएपछि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारीलाई लिएर पार्टीभित्र तानातान सुरु भएको हो। राप्रपाले मंसिर २८ मै मातहतका समितिलाई उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको थियो। सोहीअनुसार क्षेत्रीय कमिटीहरूले प्रक्रिया थालेका बेला काठमाडौँ–१ बाट दुईवटा फरक नामावली केन्द्रमा पुगेपछि विवाद चर्किएको हो। एक समूहले पूर्वअध्यक्ष पशुपति शमशेर राणासहितको नाम सिफारिस गरेको छ भने अर्को समूहले रवीन्द्र मिश्रलाई पहिलो प्राथमिकतामा राखेको छ।
पुस १ गते बसेको क्षेत्रीय कमिटीको बैठकले पशुपति शमशेर राणालाई पहिलो नम्बरमा राख्दै शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य मदनदास श्रेष्ठले बताए। उनका अनुसार सो सिफारिसमा मिश्रको नाम समावेश गरिएको थिएन। संस्थापन पक्ष निकट समूहले शोभित उप्रेतीलाई उम्मेदवार बनाउने उद्देश्यका साथ एकपक्षीय सिफारिस गरिएको दाबी गरिएको छ। तर पुस ६ गते क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठकै अध्यक्षतामा पुनः बैठक बसेर अर्को नामावली तयार पारिएको थियो। उक्त सिफारिसमा रवीन्द्र मिश्रलाई पहिलो नम्बरमा राखिएको छ भने अन्यमा रामेश्वर श्रेष्ठ र राम तुलाधर रहेका छन्। यस सूचीमा भने शोभित उप्रेतीलाई समेटिएको छैन।
मिश्र निकट मानिने राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले पुस ६ गतेको निर्णय नै आधिकारिक भएको दाबी गरेका छन्। उनका अनुसार त्यसअघि बसेको भनिएको बैठक नै अनधिकृत भएकाले त्यसबाट आएको सिफारिस मान्य नहुने उनको तर्क छ। विवादकै बीच मदनदास श्रेष्ठले मिश्रले पूर्वअध्यक्ष पशुपति शमशेर राणाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै क्षेत्रीय समितिको निर्णयलाई चुनौती दिएको आरोप लगाएका छन्। “११ जना सदस्यको उपस्थितिमा भएको निर्णय सार्वजनिक भइसकेको छ। रवीन्द्र मिश्र सिफारिसमा परेका छैनन्,” उनले भने, “मिश्रले अवैध ढंगले सिफारिसको हल्ला फैलाएका छन्, त्यो शतप्रतिशत बेइमानी र कीर्ते हो।”
श्रेष्ठका अनुसार पहिलो नम्बरमा सिफारिस भएका राणाले उम्मेदवार नबन्ने निर्णय गरे दोस्रो नम्बरका शोभित उप्रेती स्वतः उम्मेदवार बन्ने व्यवस्था छ। उनले मिश्रको नाम उल्लेख गरिएको सिफारिस पत्रको मितिमै शंका उठाउँदै उक्त पत्र जेन(जी) आन्दोलनअघिको मिति रहेको दाबी पनि गरेका छन्। पार्टी स्रोतका अनुसार काठमाडौँ–१ बाट यसअघि दुई पटक पराजित भइसकेका मिश्रलाई पन्छाएर शोभित उप्रेती अघि बढ्न चाहेको आशंका पनि उठेको छ। तर मिश्र पक्ष भने टिकट आफूले नै पाउनुपर्ने अडानमा देखिएको छ।
राप्रपाको विधानअनुसार क्षेत्रीय कमिटीबाट आएका सिफारिसका आधारमा पार्टीको संसदीय समितिले उम्मेदवारबारे अन्तिम निर्णय गर्ने व्यवस्था छ। यसैबीच, उम्मेदवार सिफारिससम्बन्धी परिपत्रमा पुराना समानुपातिक सांसदलाई यसपटक समानुपातिकमा नदोहोर्याउने र प्रत्यक्षतर्फ नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिइएको उल्लेख छ। काठमाडौँ–१ मा देखिएको यो विवादले राप्रपाभित्र उम्मेदवार छनोट प्रक्रिया कति पेचिलो बनेको छ भन्ने संकेत गरेको छ। अब संसदीय समितिको निर्णयले नै यस विवादको अन्तिम टुंगो लगाउनेछ।






