देश

सरकार–अभियन्ता संवाद अघि बढ्दैस् प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको भेट पुसभित्र

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच प्रत्यक्ष भेटवार्ताको तयारी गरिएको छ । सरकारका अनुसार दुवै पक्षबीच पुस १५ गतेभित्र उच्चस्तरीय संवाद हुने गरी मिति तय गरिएको हो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई औपचारिक पत्र पठाउँदै भेटको तयारीबारे जानकारी गराएका छन् । पत्रमार्फत सरकारले वार्तालाई निरन्तरता दिँदै समाधानमुखी निष्कर्षमा पुग्ने उद्देश्य रहेको स्पष्ट पारेको छ ।

सरकारले यसअघि नै सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरी अभियन्ता पक्षसँग नियमित संवाद गरिरहेको जनाएको छ । सोही प्रक्रियाको निरन्तरताका रूपमा प्रधानमन्त्री र प्रसाईंबीचको प्रत्यक्ष भेटलाई महत्वपूर्ण मानिएको छ ।

सरकारी पत्रमा तत्काल सम्बोधन गर्नुपर्ने पाँचवटा प्रमुख विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ । चैत १५ गते तीनकुनेमा भएको घटनासँग सम्बन्धित दुर्गा प्रसाईंलगायत अभियन्तामाथि लगाइएका फौजदारी मुद्दा फिर्ता प्रक्रियालाई अघि बढाउने, भूमिहीन सुकुमबासी तथा कवाड व्यवसायीलाई वैकल्पिक व्यवस्था नभएसम्म हालको स्थानबाट नहटाइने सुनिश्चितता गर्ने विषय समावेश छन् ।

त्यसैगरी बैंक, लघुवित्त र सहकारीजस्ता वित्तीय संस्थासँग जोडिएका समस्याको समाधान, किरात–बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाका विषयमा जनमत संग्रहमार्फत निर्णय लिने प्रक्रिया, साथै चिकित्सा शिक्षा अन्तर्गत नर्सिङ, एमबीबीएस र एमडी अध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्ने मागलाई पनि सरकारको प्राथमिक एजेन्डामा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री र अभियन्ताबीच हुने भेटवार्ताले लामो समयदेखि उठिरहेका माग र असन्तुष्टिलाई संवादमार्फत समाधानतर्फ लैजाने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *